एजेन्सी– ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले गेटाफेविरुद्ध जित निकालेको छ। शनिबार साँझ सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई २–० गोलले पराजित गरेको हो।
कप्तान लियोनल मेस्सी तथा युवा स्टार आन्सु फातीबिना मैदान उत्रिएको बार्सिलोना खेलदौरान १० खेलाडीमा सिमित भएको थियो। खेलको ८२ औं मिनेटमा क्लेमेन्ट लेङ्लेटले दोहोरो पहेलो कार्ड खादैं मैदान छोड्न बाध्य भएका थिए।
घरेलु टोली गेटाफेविरुद्ध हाबी भएको बार्साले पहिलो हाफको अन्त्यतिर गोल गर्दै अग्रता बनाएको थियो। उक्त गोल खेलको ४१ औं मिनेटले सुआरेजले गरेका थिए। त्यस्तै दोस्रो हाफको शुरु भएको केहि बेरमै फिर्पाेले गोल गर्दै पाहुना टोलीलाई २ गोलको अग्रता दिलाए। खेलदौरान बार्सिलोनाले कप्तानको अभाव खड्किन दिएन। खेलमा त्यसपश्चात अन्य गोल नहुँदा बार्सिलोनाले खेल आफ्नो पक्षमा पारेको हो।
यस जितसँगै बार्सिलोना ७ खेलबाट १३ अंक जोड्दै चौथो स्थानमा छ। रियल म्याड्रिड १५ अंकको साथ शीर्षस्थानमा रहँदा पराजित गेटाफे ७ अंक जोडेर ११औं स्थानमा छ।