मस्को, ९ माघ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका उनका समकक्षी रिसेप तयप एर्डोगानबीच सिरिया द्वन्द्व बारेमा छलफल हुने भएको छ।
उनीहरुबीच रुसको राजधानी मस्कोमा बुधबार छलफल हुने तय भएको अधिकारीहरुले बताएका छन्।
सिरियाली द्वन्द्वका बारेमा एकअर्कामा ठीक विपरित धारणा राख्दै आएका देशका शीर्ष नेताहरुबीच हुन लागेको यस छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ।
सिरियाले त्यहाँको सरकारलाई साथ दिइरहेको छ भने टर्कीले विद्रोही समूहका लडाकूहरुलाई राष्ट्रपति बशर अल असदका विरुद्धमा लड्नका लागि सघाइरहेको छ।
यी दुई देशका नेताहरुले सात वर्षदेखि सिरियामा जारी द्वन्द्वको राजनीतिक समाधानका लागि उपाय खोज्ने अपेक्षा गरिएको छ। उनीहरुले त्यसका लागि सँगै मिलेर काम गर्ने प्रयास पनि गर्ने बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट दुई हजार अमेरिकी सेना फर्काइने भन्दै गत महिना गरेको घोषणाले पनि रुस र टर्कीका राष्ट्रपतिको भेट गराएको विश्वास गरिन्छ।
टर्कीका राष्ट्रपति एर्डोगानले गत सोमबारको एउटा सम्बोधनमा टर्कीद्वारा नियन्त्रित उत्तरी सिरियाको “सुरक्षा क्षेत्र”का बारेमा रुसी राष्ट्रपति पुटिनसँग छलफल गर्न लागेको बताएका थिए।
रुसले त्यस क्षेत्रमा शान्ति स्थापनका लागि टर्की र इरानसँग त्रिपक्षीय शिखर बैठक आयोजना गर्ने योजना पनि बनाएको छ।
अमेरिकाको समर्थनप्राप्त कुर्द लडाकूहरुले सिरियाको अधिकांश उत्तरी भागलाई नियन्त्रणमा लिएका छन्।