मेक्सिको सिटी, ९ माघ – मेक्सिकोमा ग्याँस पाइपलाइनको. विस्फोटबाट मंगलबारसम्म मृत्यु हुनेको संख्या ९३ पुगेको छ।
मेक्सिकोको हिडाल्गो राज्यमा गत शनिबार भएको विस्फोटमा परी अस्पतालमा उपचार भइरहेकामध्ये थप एकजनाको अवस्था चिन्ताजनक रहेको स्वास्थ्यमन्त्री जर्ज अल्कोसरले जानकारी दिएका हन्।
पाइपलाइन विस्फोटनबाट जलेर सख्त घाइते भएकामध्ये मृत्यु हुनेहरुको संख्या बढ्दै गएको पनि उनले बताए।
राष्ट्रपति अन्ड्रेस म्यानुअल लोपेज अब्राडोरसमेत सहभागी भएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री अल्कोसरले अन्य ४६ जना अझै पनि अस्पतालमै रहेको जानकारी दिए।
स्थानीय समय अनुसार शुक्रबार बेलुका ७ः०० बजे ट्लाहुलिपान नगरको सान प्रिमिटिभो क्षेत्रमा एउटा पाइपलाइन देखिएपछि त्यसैलाई छेडेर तेल जम्मा गर्ने क्रममा उक्त विस्फोट भएको थियो।
अनुमतिविना नै पाइपलाई खोपेर स्थानीयले तेल जम्मा गर्ने लोभ गर्दा उक्त दुर्घटना भएको राज्य सञ्चालित पेट्रोल कम्पनीले जनाएको छ।