एजेन्सी– थोमस कूकले बेलायतको १ सय ७८ वर्ष पुरानो टूर कम्पनीे अतिरिक्त रकम जुटाउन नसकेपछि टाट पल्टिएको घोषणा गरेको छ। कम्पनीले विश्वभर गरेका ६ लाख यात्रा बुकिङ पनि रद्द गरेको बताएको छ।
हाल विदेशमा यात्रा गरिरहेका १ लाख ५० हजार बेलायती नागरिकलाई कम्पनीको निर्णयले असर पर्ने बेलायत सरकारले बताएको छ। बेलायती नागरिक उड्डयन प्राधिकरणले थोमस कूकले आफ्नो व्यवसाय रोकेको जानकारी दिएको छ। यस कम्पनीका ४ वटा विमान ग्राउन्डेड गरिएका छन्। विश्वका १६ वटा मुलुकमा रहेका २१ हजार कर्मचारी पनि बेरोजगार भएका छन्, जसमा ९ हजार बेलायती नागरिक छन्।
ब्रेक्जिटको अन्यौलतासँगै कम्पनीले केही महिना अघि नै बुकिङमा कमी आएको बताउँदै आएको थियो। कम्पनीमाथि ऋणको बोझ निरन्तर थपिँदै गएपछि कम्पनी नै धरासायी भएको हो। बेलायतको १ सय ७८ वर्ष पुरानो कम्पनीले आफ्नो साख जोगाउन २५ करोड अमेरिकी डलर ऋण खोजिरहेको थियो। कम्पनीले आफ्ना शेयरहोल्डर र लगानीकर्तासँग पनि यसबारेमा परामर्श गरेको थियो। थोमस कूकका विश्वभर ६०० को हाराहारीमा ट्राभल स्टोरहरु रहेका छन्।
कम्पनीका प्रमुख कार्यकारी पिटर फ्यान्काउजरले कम्पनीको इतिहासमा यो निकै उदास र दुःखद क्षण रहेको बताउँदै यस कम्पनीले बेलायती समेतका लाखौं व्यक्तिको यात्रालाई सहज गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। फ्यान्काउजरले विज्ञप्ति जारी गर्दै कम्पनीलाई विश्वास गर्ने लाखौं उपभोक्ता र हजारौं कर्मचारीसँग आफूले व्यक्तिगत रुपमा क्षमा माग्न चाहेको उल्लेख गरेका छन्।
कम्पनीको सेवा लिएका, तर विदेशमा अलपत्र परेका व्यक्तिको उद्धारका लागि बेलायती नागरिक उड्डयन प्राधिकरणले विशेष व्यवस्था गर्न लागेकोबताएको छ। बेलायती यातायात मन्त्री ग्रान्ट श्याम्प्सको अनुसार आफ्ना नागरिकको उद्धारका लागि दर्जनौं चार्टर विमानको व्यवस्था गरिएको छ। उनले यी चार्टर विमानले मलेसियासम्म पुगेर अलपत्र बेलायतीलाई निःशुल्क बेलायत ल्याउनजनाए।
थोमस कूकका कर्मचारीसँग सम्बन्धित युनियनले बेलायत सरकार समक्ष थोमस कूकका कारण जागिर गएका व्यक्तिका बारेमा सोच्न र उपयुक्त निकास निकाल्न अनुरोध गरेको छ। कम्पनी जोगाउने नाममा सरकारले लगानी गर्न नसक्ने बताउँदै यस प्रवृत्तिले टाट पल्टिन लागेका कम्पनीहरु सरकारमाथि बढी आश्रित हुने खतरा हुने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताए।