एजेन्सी - विश्वको सबैभन्दा प्रचलित मूल्यवान कम्पनीमध्ये एक रहेको अमेजन विश्वमा धेरैलाई रोजगारी दिने कम्पनी रुपमा लिनसकिन्छ। हालै अमेजनले ३० हजार पदका लागि आवेदन खुल्ला गरेको छ।
अमेजनमा जागिर खान को नचाहला र? त्यसैले ३० हजार पदका लागि २ लाख ८ हजार जनाले निवेदन दिएका छन्। अमेजनमा आवेदन गर्ने ती २ लाख भन्दा धेरै मानिसहरु दक्ष तथा अनुभवी रहेका छन्। सिएनएनका अनुसार अमेजनले दक्ष तथा अनुभवी कामदार भर्नाका लागि उक्त आवेदन खुलाएको हो।
अमेजनको भर्ना केन्द्रमा रहने सुरुवाती तहका कामदारका साथै सफ्टवेयर डेभलप गर्ने इन्जिनियर समेतका लागि अमेजनले आवेदन खुलाएको हो। कानून बमोजिमको न्यूनतम ज्याला प्राप्त गर्नुका स्वास्थ्य सुविधा र महिलाको हकमा २० हप्ताको तलबी सुत्केरी विदा समेत पाउनेछन्।
अमेजनले भर्ना लिने ती सबै ३० हजार नयाँ कर्मचारीहरु स्थायी हुनुका साथै फुल टाइम कार्यमा लगनशिल भएर लाग्नु पर्ने छ। स्मरण रहोस् सक्षम तथा दक्ष जनशक्ति भित्राउनका लागि अमेजनले अमेरिकामा करिअर डे नामका कार्यक्रम गर्ने गरेको छ।
अमेरिकाका ६ सहरमा भैसकेका त्यस्ता कार्यक्रममा जागिरको खोजीमा रहेका हजारौँ मानिसहरु सहभागी भएका छन्। निकै कठिनाइ रहेको र कामदारहरुलाई अत्यधिक काम गराउने भन्दै विगतमा अन्तराष्ट्रिय रुपमै अमेजनको आलोचना हुने गरेको थियो।