एजेन्सी – एक पाकिस्तानी मानव अधिकारकर्मी पाकिस्तानी सेनाविरुद्ध बोलेपछि महिनौँदेखि लुकेर बस्दै आएकी थिइन् र अहिले उनि देश छोडेर अमेरिका पुगेकी छिन्।
देशव्यापी आफ्नो खोजी र आफूविरुद्धको यात्रा प्रतिबन्धलाई छल्दै अधिकारकर्मी गुललाई इस्माइल अमेरिका पुगेकी हुन्। पाकिस्तानी अधिकारीहरूले राज्यविरुद्धका गतिविधिमा संलग्न भएको र हिंसा फैलाएको भन्ने आरोप उनीमाथि लगाउँदै आएका छन्।
इस्माइलले समाचार संस्था एएफपीसँग आफ्नो ज्यान जोखिममा रहेकोले देश छोडेर भाग्न बाध्य भएको बताएकी छिन्। पाकिस्तानी अदालतमा उनीविरुद्ध छवटा मुद्दा दर्ता भएको कारण आफ्नो जीवन गम्भीर खतरामा रहेको उनले निष्कर्ष निकालेको बताएकी छिन्।
अधिकारकर्मी इस्माइलले एउटा वक्तव्यमा भनिन् ‘पछिल्ला केही महिना एकदम भयानक रहे, मलाई धम्की दिइयो, दुर्व्यवहार गरियो। तर म भाग्यमानी छु कि अहिलेसम्म जीवित नै छु।’
आफ्नो यात्रामाथि प्रतिबन्ध लगाइएकोले उनले अमेरिका कसरी पुगिन भन्नेबारे उल्लेख गरेकी छैनन्। यद्यपि न्यूयोर्क टाइम्स पत्रिकासँग कुरा गर्दै उनले भनिन् ‘म कुनै विमानस्थलबाट चाहिँ उडिनँ।’
अमेरिकामा राजनीतिक शरणका लागि निवेदन दिएकी इस्माइल न्यूयोर्कमा आफ्नी बहिनीसँग बसिरहेकी छन्। खासगरी महिला तथा बालिकाविरुद्धका मानव अधिकार उल्लङ्घनका घटनाबारे इस्माइलले कैयौँ वर्षदेखि आवाज उठाउँदै आएकी छन्
यद्यपि अफगानिस्तानसँगको सिमानामा पाकिस्तानी सेनाको कारबाहीका क्रममा महिलामाथि दुर्व्यवहार गरिएको भन्दै आवाज उठाउन थालेपछि उनी अधिकारीहरूको नजरमा पर्न गइन्।
सन् २०१८ को अक्टोबर महिनामा लण्डनबाट फर्कने क्रममा इस्लामाबाद विमानस्थलबाट इस्माइललाई पहिलो पटक पक्राउ गरिएको गरेको छ। सोह्र वर्षको उमेरदेखि नै गुललाई इस्माइलले मानव अधिकारको पक्षमा वकालत गर्दै आएकी छन्।
उनी उत्तर–पश्चिमी पाकिस्तानको ख्यबर पख्तुन्ख्वा प्रान्तकी हुन्। त्यहाँ उनले बालिकाहरूका लागि काम गर्ने लक्षयले अवाएर गर्ल्स नामक एउटा गैरसरकारी संस्था स्थापना गरिन्। घरेलु हिंसा र बालविवाहविरुद्ध लगायतका विषयमा काम गर्न सन् २०१३ मा उनले सयजना महिला भएको एउटा समूह बनाइन्।
उनका कामका लागि उनले थुर्पै पुरस्कारसमेत पाएकी छन्।