काठमाडौं– अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले रक्षात्मक प्रयोजनका लागि अमेरिकी सेनालाई साउदी अरेबिया पठाउने योजना बनाएको बताएका छन्। तर अमेरिकी सेनालाई कहिले देखि र कतिको संख्यामा पठाउने भन्ने बारे खुलाइएको छैन।
साउदी अरेबियाका २ ठूला तेल प्रशोधन केन्द्रमा ड्रोन हमला भएपछि अमेरिकाले सेना पठाउने योजना बनाएको छ। इरानको समर्थन पाएको यमनको हुथी बिद्रोहीले साउदीको तेल प्रशोधन केन्द्रमा गरेको हमलाको जिम्मा लिएपछि अमेरिकाले साउदीको सुरक्षाका लागि योजना बनाएको हो।
साउदी अरेबिया र अमेरिकाले तेल प्रशोधन केन्द्रको आक्रमण हुथी बिद्रोहीको नभइ इरानको भएको दाबी गरेपनि इरानले दुई देशको दावी अस्वीकार गर्दै आएको छ। साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको संयुक्त आग्रहमा अमेरिकाले सेना पठाउन लागेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको भनाई छ।
अमेरिकी सेनाले साउदी सेनासँग सहकार्य गरेर हवाई तथा मिसाइल सुरक्षा प्रणालीलाई बलियो बनाउने बताइएको छ। सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका अबकेक र खुराइसमा रहेका दुई प्रशोधन केन्द्रमा गएको शनिबार १८ वटा ड्रोन तथा, सातवटा क्रुज मिसाइल आक्रमण भएको साउदी अरेबियाको रक्षा मन्त्रालयले जनाएको छ। आक्रमण पश्चात साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको छ।