एजेन्सी– अमेरिकी सरकारले काठमाडौंमा पक्राउ परेका मोस्ट वान्टेड यौन दुराचारी नाथन बेडफोर्ड माकोव्स्कीलाई लैजान विमान नै चार्टर गरेको छ। त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बुधबार बेलुका ओर्लिएको अमेरिकी जहाज बिहीबार बिहानै नाथनलाई लिएर फर्केको छ।
युएस मार्सल सर्भिसका तीन सुरक्षाकर्मी चालक दलका सदस्यसहित नेपाल आएका थिए। अमेरिकी दूतावास स्रोतले झण्डै एक लाख डलर नाथनलाई लैजान खर्च भएको बताएको छ। अमेरिकाका नाथन आफ्नै प्रेमिकाकी नाबालिका छोरीमाथि यौन दुर्व्यवहार गरेर फरार भएका थिए। भाद्र १८ गते नाथनलाई प्रहरीको विशेष ब्युरोले ठमेलबाट पक्राउ गरेको थियो। १४ दिन सम्म अध्यागमन विभागले थुनामा राखी उनलाई निष्कासनको निर्णय गरेको थियो। नेपालमा रहेको अमेरिकी दूतावासको पहलमा उनलाई नियमित उडानबाट अमेरिका लैजाने तयारी भएको थियो।
युएस मार्सल सर्भिसका तीन सुरक्षाकर्मी एक साताअघि नाथनलाई लैजान काठमाडौं आइसकेका थिए। तर, नाथनले भदौ २७ मा कोरियन एयरको जहाज चढिसकेपछि आत्महत्या गर्ने धम्की दिए। त्यसपछि सुरक्षाको कारण देखाएर एयरलायन्सले उनलाई लैजान मानेन। त्यसपछि अमेरिकी सरकारले उनलाई लैजान फ्लाइटवर्कस् कम्पनीको भिरएन ११ जिडब्लू प्लेन चार्टर्ड गरेको हो।
नाथनलाई बिहीबार अध्यागमन विभागबाट खटिएका प्रहरीले विमानकै र्भयाङसम्म र्पुयाएर अमेरिकी मार्सल टोलीलाई बुझाएको थियो र उनलाई हत्कडी लगाएर जहाजभित्र बसाइयो। तर यसरी अपराधी बुझाउन नेपाल र अमेरिकाबीच सुपुर्दगी सन्धि छैन। तैपनि अन्तरदेशीय अपराध नियन्त्रणका लागि भन्दै एक–अर्का देशमा लुक्न गएका अपराधीलाई पक्राउ गरेर निष्कासनको प्रक्रियामार्फत सहकार्य हुने गरेको छ। नाथनलाई अन्तर्रा्ष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेकाले पक्राउ गरेर अध्यागमन कानुनअनुसार कारबाही गरी नेपाल आउन नपाउने गरी निष्कासन गरिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए।
नाथन अवकाशप्राप्त सैनिक हुन्। उनी क्यालिफोर्नियाका बासिन्दा हुन र गत महिना उनी चीन हुँदै नेपाल लुक्नकै लागि आएको प्रारम्भिक अनुसन्धानमा देखिएको अध्यागमनका अधिकारीहरूले बताए। नेपाल आएलगत्तै इन्टरपोलले उनलाई रेड नोटिस जारी गरेको थियो। सोही नोटिसका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। अध्यागमन कानुनअनुसार उनलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ।
विशेष विमानमार्फत विदेशी अपराधीलाइ निष्काशन गरिएको यो दोस्रो घटना हो। लगभग १० वर्षअगाडि एक जर्मनको नागरिकलाई लिन जर्मनीबाट विमान चार्टर्ड गरेर ल्याइएको थियो। तीनपटकसम्म विमान चढाउँदा हुलहुज्जत गरेपछि जर्मन नागरिकलाई विशेष विमानमार्पmत लैजानु परेको विभागका महानिर्देशक पौडेलले जानकारी दिए।
के छ अभियोग ?
आफ्नै प्रेमिकाकी नाबालिका छोरीमाथि यौन दुराचार गरेको आरोप नाथनमाथि लागेको छ। यस्तो अवराधमा अमेरिकी ऐनअनुसार ९९ वर्षसम्म कैद सजाय हुन सक्छ। उनले प्रेमिकाकी छोरीमाथि यौन अपराध गरेको सन् २०१४ देखि २०१५ सम्म उजुरी परेको थियो। प्रेमिकासँग सम्बन्ध विच्छेद भएपछि उनीविरुद्ध उजुरी परेको हो। अलास्का राज्यको प्रहरीले उनीविरुद्ध पक्राउ वारेन्ट जारी गरिसकेको छ। तर, नाथनले आफूले त्यस्तो अपराध नगरेको नेपालका अध्यागमन अधिकारीसँग बताएका छन्।