एजेन्सी– रोबर्ट ओ ब्रायनलाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन्। राष्ट्रपति ट्रम्पले ट्वीटरमा यसको जानकारी दिएका हुन्।
ट्रम्पले विदेश विभागको प्रतिनिधिको रुपमा काम गर्दै आएका ब्रायनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन्। ब्रायनसँग अघिल्ला राष्ट्रपतिहरु जर्ज डब्लु बुश र बराक ओबामासँग पनि काम गरेको अनुभव छ।
यसअघिका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले ट्रम्पले राजीनामा दिन भनेकाले गत हप्ता राजीनामा दिएका थिए। यद्यपि बोल्टनले भने यसबारे केही बताएका छैनन्।
राष्ट्रपति ट्रम्पको रोबर्ट ब्रायन यो कार्यकालमा काम गर्ने चौथो राष्ट्रिय सुरक्षा सल्लाहकार हुन्। ब्रायनअघि माइकल फ्लिन, एच आर म्याकमास्टर र जोन बोल्टनले राष्ट्रिय सुरक्षा सल्लाहकार भएर ट्रम्पसँग काम गरिसकेका छन्।