एजेन्सी, ८ माघ – इन्डोनेसियामा मङ्गलबार केही समयको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। स्थानीय अधिकारीहरुले भूकम्पका कारण सुनामी आइहाल्ने अवस्था भने नदेखिएको बताएका छन्।
पहिलो भूकम्प इन्डोनेसियाको सुम्बा द्वीपमा गएको थियो। सर्भेका अनुसार उक्त भूकम्प ६ दशमलब ४ म्याग्नीच्यूडको थियो। भूकम्पका कारण हुनसक्ने धनजनको क्षतिको विवरण प्राप्त नभएको इन्डोनेसियाली विपद निकायले जनाएको छ।
अर्को भूकम्प मध्य इन्डोनेसियाको पूर्वी टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाएर गएको थियो। उक्त भूकम्प ६ दशमलब ७ म्याग्नीच्यूडको भएकाे जनाइएकाे छ।
दुबै भूकम्प लगत्तै स–साना भूकम्पका धक्का महसुस गरिएको इन्डोनेसियाको जलवायु विज्ञान विभागका प्रियो बुडीले बताए।
इन्डोनेसिया गत डिसेम्बरमा जाभा र सुमात्रा द्वीपको बीचमा अवस्थित सुन्डा स्ट्रेटमा भएको ज्वालामुखी विस्फोट र त्यसबाट उत्पन्न सुनामीका कारण ४ सय भन्दा बढी सर्वसाधारणको मृत्युका कारण शोक छ। उक्त सुनामीका कारण पूर्वाधार र आवासीय क्षेत्रमा ठूलो क्षति पुगेको थियो।
इन्डोनेसिया भूकम्पीय जोखिमका दृष्टिले अत्यन्त कमजोर मानिन्छ। भूकम्पसँगै प्रशान्त महासागरबाट उत्पन्न हुने सुनामीले पनि इन्डोनेसियामा बर्सेनि धनजनको ठूलो क्षति हुने गरेको छ।