एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्तर कोरिया भ्रमणको तयारी तत्कालका लागि सम्भव देखिएको छैन।
उत्तर कोरियाका नेता किम जोङ उनले ट्रम्पलाई उत्तर कोरिया भ्रमणको निमन्त्रना दिएकोबारे कुनै प्रतिक्रिया दिएका छैनन्। ट्रम्पले पत्रकारहरुसँग ‘सम्बन्ध निकै राम्रो छ, तर म त्यसमा प्रतिक्रिया दिन चाहन्न’ भनेका छन्।
उत्तर कोरियाली नेताले ट्रम्पलाई भ्रमणको निम्तो दिएको समाचार आएपछि यसबारे पत्रकारहरुले ट्रम्पको प्रतिक्रिया खोजिरहेका छन्। ट्रम्पले आफ्नो कोरिया भ्रमण ‘कुनै समयमा वा भविष्यमा’ हुनसक्ने प्रतिक्रिया दिएका छन्।
तर किम कहिले अमेरिका आउने भन्ने कुरामा निर्भर रहने बताएका छन्। तर भ्रमणका लागि अहिले नै तयारी अवस्था नभएको उनको भनाइ थियो। दक्षिण कोरियाको पत्रिकाले सोमबार मात्रै उत्तरका नेता किमले ट्रम्पलाई भ्रमणको निम्तो दिएको उल्लेख गरेको छ।
ट्रम्पले तत्कालै भ्रमण ‘सम्भवतः नहुने’ बताए। जब कि, किमले अगस्ट तेस्रो हप्ताका लागि कोरिया आउन भन्दै ट्रम्पलाई पत्र पठाएको मिडियाले जनाएका छन्। तर ट्रम्पले यसअघि नै किमबाट ‘सुन्दर पत्र’ आएको बताएका थिए।
ट्रम्प र किमले गत वर्ष जुन महिनायता तीन पटक भेटवार्ता गरिसकेका छन्। अघिल्लो दुई भेटवार्ता औपचारिक थिए। दोस्रो भेट फेब्रुअरीमा भियतनाममा भएको थियो। यस्तै तेस्रो पटक जुन ३० मा दुई कोरियाको सीमास्थित गैरसैनिक क्षेत्रमा उनीहरुको भेट भएको थियो।
तर तेस्रो भेटवार्तापछि धेरै पटक उत्तरले क्षेप्यास्त्र प्रक्षेपण गरिसकेको छ। यससँगै ह्वाइट हाउस र प्योङयाङबाट विज्ञप्ति सार्वजनिक नहुँदा चौथो भेटवार्ता तत्काल अनिश्चित भएको अन्तर्रा्ष्ट्रिय मिडियाको टिप्पणी छ।