एजेन्सी, ७ माघ –चीनको स्वास्थ्य सेवामा निरन्तर सुधार आएका कारण सन् २०१८ मा मातृ तथा शिशु मृत्युदर घटेको त्यहाँकाे राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।
सन् २०१८ मा प्रति एकलाख जीवित जन्ममा सुधार आई मातृ मृत्युदर १८.३ रहेको छ। अघिल्लो वर्ष यो प्रति एकलाख जीवित जन्ममा १९.६ थियो। बाल मृत्युदरमा पनि सुधार आई प्रति १ हजार जीवित जन्ममा ६.१ को मृत्यु हुने गरेको छ जबकी यो अघिल्लो वर्ष ६.८ थियो।
यसबाहेक, पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा पनि कमी आई गत वर्ष प्रति एक हजार जीवित जन्ममा ८.४ को मृत्यु हुने गरेको छ। सन् २०१७ मा प्रति एक हजार जीवित जन्ममा बाल मृत्युदर ९.१ थियो।
आयोगका एकजना अधिकारी यू यानहोङले गर्भवतीको स्वास्थ्य जाँचका लागि आपतकालीन केन्द्रहरु खोलिएका कारण महिला र बालबालिकाको मृत्युदर घटाउन ठूलो भूमिका खेलेको बताए। साथै, गम्भीर बिरामी, नवजात शिशु र आमाहरुको उपचारमा विशेष सुविधा उपलब्ध गराइएको, मातृ तथा बालस्वास्थ्य संस्थाहरुको अनुगमनलाई तिब्रता दिइएको तथा उपचारमा चुस्तता ल्याइएको पनि उनले बताए।
मातृ तथा बाल स्वास्थ्यमा थप सुधार ल्याउन आयोगले प्रान्तहरुमा महिला र बालबालिकाका लागि थप स्वास्थ्य सेवा विस्तार गर्न लागेको तथा स्वास्थ्यकर्मीका लागि समयानुकूल तालिम उपलब्ध गराउन लागेको छ।
चीनले सन् २०३० भित्र मातृ मृत्युदरलाई प्रति एक लाख जीवित जन्ममा १२ मा ल्याउने तथा बाल मृत्युदरलाई प्रति एक हजार जीवित जन्ममा पाँचमा ल्याउने योजना बनाएको छ।