काठमाडौ – विश्वका बस्नलायक शहरको सूचीमा एसियाको स्थान औषतभन्दा तल देखिएको छ। हालै सार्वजनिक विश्वका २३१ शहरहरुको मूल्यांकन सूचीमा प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालका शहर भने परेका छैनन्। दी इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) ले हरेक वर्ष विश्वका बस्न योग्यरअयोग्य शहरको सूची सार्वजनिक गर्छ। विगतझैं सन् २०१९ मा गरिएको सर्भेक्षणमा अन्य महादेशलाई पछि पार्दै युरोपका शहर बस्नलायकको अग्रपंक्तिमा परेका छन्।
स्वच्छ पर्यावरण र अपराधलाई आधार बनाएर गरेको भनिएको सर्भेमा अस्ट्रियाको भियना विश्वकै बस्नलायक शहरको सूचीमा पहिलो नम्बरमा दर्ज भएको छ। स्विट्जरल्यान्डको जुरिचसहित ३ शहर उत्कृष्ट १० मा परेका छन्। ईआईयूको सर्भेक्षणमा जेनेभा नवौं र बसेल दसौं नम्बरमा परेका हुन् ।
क्यानडाको भ्यानकुभरसहित जर्मनको म्युनिख र न्युजिल्यान्डको अकल्यान्ड समान तेस्रो नम्बरमा पर्न सफल भए । जर्मनको डसेलडोर्फ छैटौं र फ्यांकफर्ट सातौं नम्बरमा सूचीकृत भएका छन्। बस्नयोग्य शहरको आठौं, नवौं र दशौंमा क्रमशः डेनमार्कको कोपनहेगन, स्विट्जरल्यान्डको जेनेभा र स्विटजरल्यान्डकै बसेल परेका छन्।
अस्ट्रेलियाको सिड्नी र एम्स्टर्डम शान्त शहरका रूपमा चिनिए पनि यी शहर उत्कृष्ट १० मा पर्न सकेनन्। यी दुवै शहर यसपटकको मूल्यांकनमा समान ११ औं स्थानमा परेका छन्।
दक्षिण एसिया विश्वका अन्य देशको तुलनामा शान्त मानिन्छ। तर, बस्नलायक शहरको सूचीमा यी क्षेत्रका कुनै पनि शहर परेका छैनन्। २३१ शहरको सूची सार्वजनिक हुँदा नेपालको कुनै पनि शहर सूचीमा परेका छैनन्।
छिमेकी देश चीनका ११ शहरलाई ईआईयूले मूल्यांकनमा समेटे पनि अधिकांश शहर कमजोर देखिएका छन्। तुलनात्मक रूपमा शान्त मानिने सांघाइ शहर नै सूचीको १०३ औं नम्बर छ। राजधानी बेइजिङ त १२० औं नम्बरमा छ।
अर्को छिमेकी देश भारतको अवस्था पनि नाजुक छ। यसका सात शहरमा गरिएको सर्भेक्षणमा हैदरावाद नै सूचीको १४३ औं नम्बरमा धकेलिएको छ। राजधानी नयाँदिल्ली त भारतका अन्य शहरको पुछारमा अर्थात् १६२ औं स्थानमा छ। अघिल्लो वर्ष १५६ औं स्थानमा रहेको नयाँदिल्ली यस वर्ष ६ स्थान तल खस्किएको हो। भारतको दोस्रो ठूलो शहर मुम्बई पनि दुई स्थान तल खस्किँदै ११९ औं स्थानमा पुगेको छ।
दक्षिण एसियाली मुलुक बंगलादेशको ढाकाभने २१७ औं स्थानमा छ। जसमा विश्वकै बस्न अयोग्य शहरमा इराकको बग्दाद, सेन्ट्रल अफ्रिकन रिपब्लिकको बांगुङ, यमनको साना, हैटीको पोर्ट यू प्रिन्स परेका छन्।