काठमाडौँ - विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जम्मु कश्मीरकाे श्रीनगरमा शुक्रबार विरोध प्रदर्शन भएकाे जनाएका छन्। भारत प्रशासित कश्मीरमा धारा ३७० खारेज गर्ने निर्णयको विरोधमा भएको प्रदर्शनमा प्रहरीले अश्रु ग्याससहित हवाइ फायर गरेको बताइएको छ। अलजजीरा, न्यूयोर्क टाइम्स र समाचार एजेन्सी रोयटर्सले यस्तो दावी गरेका हुन्।
प्रदर्शनको क्रममा केही प्रदर्शनकारी घाइतेसमेत भएको ती सञ्चार माध्यमहरूको दावी छ। सो क्षेत्रमा समाचार संकलनका लागि विदेशी सञ्चार माध्यमलाई निधेष गरिएको छ। अलजजीराका अनुसार भारत प्रशासित कश्मीरको श्रीनगरमा शुक्रबार नमाजपछि प्रदर्शन सुरु भएको थियो। कर्फ्यूको अवज्ञा गर्दै हजारौँको संख्यामा प्रदर्शनकारीहरु सडकमा निस्केको समाचारमा दाबी गरिएको छ।
अलजजीराको अनुसार प्रदर्शनकारीले कालोझण्डा बोकेका थिए। केहीले हातमा बोकेको प्ले कार्डमा ‘हामी स्वतन्त्रता चाहन्छौँ’ र अनुच्छेद ३७० हटाउने विषय मान्दैनौँ’ जस्ता नारा लेखिएका थिए। मोदी सरकारले गत सोमबार जम्मू कश्मीरलाई विशेष दर्जा दिने अनुच्छेद ३७० खारेज भएको घोषणा गरेको थियो। तर भारतीय मिडियाले भने कश्मीर सामान्य स्थितिमा रहेको दाबी गरेका छन्।
https://www.youtube.com/watch?v=SEWWZsLkKeE