काबुल – अफगानिस्तानको राजधानी काबुलमा बुधबार तालिबान आतङ्ककारी समूहले गराएको कारबम विस्फोटमा परी कम्तीमा ९५ व्यक्ति घाइते भएका छन्। यस भीषण कारबम आक्रमणपछि राजधानी काबुलको पश्चिमी भाग धुवाँले भरिएको जनाइएको छ।
अफगानिस्तानमा आगामी अक्टोबर २८ हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको अगाडी अमेरिका र तालिबानबीच शान्तिसम्झौता हुने आशा गरिएको यस अवस्थामा पुनः भीषण कारबम विस्फोट गराइएको छ। पश्चिम काबुलमा रहेको एक प्रहरी स्टेशनको प्रवेशद्धारमा स्थानीय समयानुसार बिहान ९ बजे सो विस्फोट गराएको गृह मन्त्रालयका प्रवक्ता नुरात रहिमीले बताएका छन्।
यस आक्रमणमा परी घाइते भएका ९५ व्यक्तिमा प्रायः सर्वसाधारण रहेका छन्। यसमा पनि महिला र बालबालिकाको सङ्ख्या बढी रहेको जनाइएको छ। ती सबैलाई उपचारको लागि अस्पतालमा लगिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले बताए। आफूले अचानक एक भीषण आवाज सुनेको र आफ्नु पसलमा रहेको झ्यालका सिसाहरू सवै फुटेर सवैतिर छरिएको सो इलाकाका एक पसले अहमत सालेहले एएफपी समाचार समितिलाई बताएका छन्।
सो विस्फोट गराइएको एक किलोमिटर परसम्मका करिब २० ओटा पसलहरु विस्फोटबाट प्रभावित भएको जनाइएको छ। यस कारबम विस्फोटको जिम्मेवारी तालिबानी लडाकू समूहले लिएको छ। अफगानिस्तानमा जारी द्वन्द्वको क्रममा सन् २०१९ को जुलाईसम्म १ हजार ५ सयभन्दा बढी सर्वासधारण घाइते भएका संयुक्त राष्ट्र संघले जनाएको छ। (रासस–एएफपी)