अफगानिस्तान – विभिन्न क्षेत्रमा पछिल्लो पटक भएका हवाई कारबाहीमा परी कम्तीमा १६ जना तालिबान लडाकू मारिएका छन्। अफगान सेनाको विशेष कमाण्डले सोमबार दिएको जानकारीअनुसार अफगानिस्तानका विभिन्न क्षेत्रमा यो हवाई कारबाही भएको थियो।
गएको २४ घन्टा यताका ती कारबाही अफगानिस्तानको सेनाले गरेको थियो। ती हवाई कारबाहीहरु उरुजगान, घानी, पाक्टिया र फर्याब प्रान्तमा भएको थियो। अफगान राष्ट्रिय सेनाको विशेष कमाण्डले सोमबार प्रेस विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी गराएको हो।
कारबाहीका क्रममा अरु केही लडाकू घाइते पनि भएको सुरक्षा अधिकारीहरुले जनाएका छन्। अफगानिस्तानका ३४ ओटै प्रान्तका प्रान्तीय राजधानीहरुमा अफगानिस्तानको विशेष सैन्य समूह रहेको छ। तर पनि अफगानिस्तानका कैयौँ ग्रामीण क्षेत्रहरु भने तालिबानले कब्जा गरेका छन्। यो पछिल्लो कारबाहीका बारेमा तालिबानहरुका तर्फबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन। (रासस–सिन्ह्वा)