धनगढी – जंगली जनावर भगाउन हानेको गोली लागेर डोटीमा शनिबार राति एक युवकको ज्यान गएको छ। आदर्श गाउँपालिका–५ लामीखाल तल्लो ढाडावन बस्ने अन्दाजी ५० वर्षीय जङ्गे भुलले चलाएको गोली लागेर सोही ठाउँका १९ वर्षीया तपेश लुहारको घटनास्थलमै ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी लालबहादुर धामीले तपेशको टाउकोमा गोली लागेको र घटनास्थलमै ज्यान गएको बताए। स्थानीय सलामीढाडा सामुदायिक वन नजिकै गगने भाट र पुने भाटको खेतको किनारमा जङ्गे भुलले एक नाले भरुवा बन्दुक चलाउँदा गोली तपेशलाई लागेको जनाइएको छ।
घटना भएलगत्तै इलाका प्रहरी चौकी आदर्शका सव–ईन्सपेक्टर धर्मानन्द जोशी नेतृत्वको टोलीले गोली चलाउने व्यक्ति र बन्दुक नियन्त्रणमा लिएको छ। घटनाको मुचुल्का तयारी र विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटीका ईन्सपेक्टर कर्णबहादुर बोहरा नेतृत्वको टोली आइतबार बिहानै घटनास्थल पुगेको डोटी प्रहरीले जनाएको छ।