पोखरा - पोखरा महानगरपालिका– २१ का वडाध्यक्ष खगराज आचार्यमाथि हातपात गर्नेविरुद्ध प्रहरीले सार्वजनिक मुद्दा दर्ता गराएको छ। आइतबारसाँझ पोखराको राष्ट्र बैंक चोकमा जुस खाइरहेको बेला ‘कृस्ती–निर्मल पोखरी–भरतपोखरी’ सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले वडा अध्यक्षमाथि हातपात गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं डीएसपी कोमल शाहका अनुसार वडाअध्यक्ष खगराज माथि हातपात गर्ने दातारामविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी सोमबार सार्वजनिक मुद्दा चलाइएको छ।
व्यक्तिगत रिसिबीका कारण दाताराम आचार्यले आइतबार पोखराको राष्ट्रबैंक चोकमा हातपात गरेपछि वडा अध्यक्ष आचार्यले वडाप्रहरी कार्यालय बैदाममा उजुरी दिएका थिए । पटक–पटक आफूमाथि दातारामले अनावश्यक दबाब दिँदै गालीगलौज गर्दै आएको अध्यक्ष आचार्यले बताए।
‘कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाको विषयलाई लिएर दातारामले रिसिबी पालेका रहेछन,’ उनले भने, ‘मैले खानेपानी आयोजनाका लागि अनुगमन समिति बनाउनुपर्छ भनेको थिएँ। तर, दातारामले मानेका थिएनन्। यही विषयलाई लिएर उनले मलाई हातपात गरे।’
वडा अध्यक्षले खानेपानी आयोजनाको अनुगमन समिति बनाउनुपर्ने बताए पनि योजनाको अध्यक्ष रहेका दातारामले बनाउन मानेका थिएनन्। त्यसै विषयलाई लिएर वडाअध्यक्ष र दातारामबीच चुलिएको विवादले उग्र रूप लिएपछि हात हाल्ने अवस्थामा पुगेको हो।