काठमाडौँ - पाकिस्तानी सेनाको एक विमान मंगलबार बिहान रावलपिन्डीको आवासीय इलाकामा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा पाँच चालक दलसहित १७ को मृत्यु भएको छ। मृतकमध्ये १२ सर्वसाधारण पनि रहेको बताइएको छ भने १२ जना घाइते छन्।
प्रशासनको अनुसार आवासीय क्षेत्रमा दुर्घटना भएका कारण थप क्षती भएको बताइएको छ। विमानमा लागेको आगोले थुप्रै घरमा क्षती पुर्याएको छ । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
सेनाका अनुसार दुर्घटनामा विमानका दुई पाइलट मारिएका छन्। उता, रावलपिन्डीको अस्पतालमा संकटकालको घोषणा गरिएको छ। पाकिस्तानी सेनाका अनुसार उक्त विमान प्रशिक्षण उडानमा थियो।
स्थानीय मोहम्मद सादिकले बिस्फोटको ठूलो आवाजले आफू ब्यूँझिएको बताए । उनले भने, ‘मानिसहरु चिच्याइरहेका थिए। उनीहरुलाई सहयोग गर्न खोजिएपनि आगो निकै माथिसम्म पुगेको थियो।’ अर्का स्थानीयले विमान दुर्घटना हुनुअघि आगलागी भएको थियो। एजेन्सी