याङ्गुन – म्यानमारमा आइतबार आएको ठूलाे पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूले देशको उत्तरी क्षेत्रमा पर्ने काचिन राज्यको हपाकान्तमा पहिरो गएको जानकारी दिएका छन्।
मृत्यु भएकाहरूमा स्थानीय एक कारखानाका कर्मचारी र सुरक्षाकर्मीहरू छन्। स्थानीय समयअनुसार दिउँसो २ बजे पहिरो गएको थियो। उद्धारकर्ताहरूबाट १३ जनाको शव भेटिएको र अरू ५ जना अझै हराइरहेको विभागीय कर्मचारीहरूले बताएका छन्।
घटनास्थलबाट २ जना सुरक्षाकर्मीलाई उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको उनीहरूको भनाइ छ। खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ। (रासस/सिन्ह्वा)