काठमाडौँ – गैरकानूनी रूपमा मलेसियामा बसेका कामदारलाई त्यहाँको सरकारको आममाफीअन्तर्गत ‘ब्याक फर गुड’ कार्यक्रम ल्याएको छ। मलेसियामा भिषा नभई वा भिषाको म्याद सकिएर अभिलेखविहिन (गैरकानूनी) रूपमा बसेका कामदारलाई आफ्नो देश फर्कने अवसर दिनका लागि त्यस्तो कार्यक्रम ल्याइएको हो।
उक्त कार्यक्रम आगामी अगष्ट १ देखि ५ महिनासम्मका लागि लागू गरिने छ। मलेसिया सरकारले यस कार्यक्रमका लागि ८० वटा काउण्टरहरु राख्ने बताइएको छ।
यसरी फर्किन सक्छन नेपाली कामदार
नेपाली राजदूतावासका अनुसार गैरकानूनी रूपमा बसेका नेपाली कामदारले स्वदेश फर्कनका लागि मेलिसिया सरकारलाई सात सय मलेसियन रिङ्गिट जरिवाना बुझाउनुपर्ने छ। पासपोर्ट नभएमा एकतर्फी यात्रा अनुमतिपत्र वापत नेपाली राजदुतावासमा एक सय ६० मलेसियन रिङ्गिट तिनुपर्ने छ भने मेलेसियाबाट नेपाल फर्कन हवाई टिकट आवश्यक पर्नेछ।
गैर कानूनी रूपमा मलेसिया बसेका नेपाली कामदारलाई यो अवसरको फाइदा लिन दुतावासले आग्रह गरेको छ। साथै अन्य केही समस्या परेमा दुतावासमा सम्पर्क गर्न भनिएको छ।