धनगढी - प्रतिबन्धित बिप्लव निकट नेपाल कम्युनिष्ट पार्टीले हिजो बिहीबार कैलालीमा भएको बम विस्फोटनको जिम्मेवारी लिएको छ। नेकपा सेती महाकाली ब्यूरो इन्चार्ज निर्माणले एक विज्ञप्तिमा घटनाको जिम्मेवारी लिँदै घाइते भएका सर्वसाधारणहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
यस्तै, घटनामा परी ज्यान गुमाउने रामबहादुर सिंह ‘राजेश’लाई शहीद घोषणा गरिएको छ भने उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना तथा दुःख समेत व्यक्त गरेको छ। पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको बम विस्फोट भएर उनको ज्यान गएको उक्त पार्टीले बताएको छ।
‘हिजो साँझ धनगढी उपमहानगरपालिका शहीद गेटनजिकै पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा सहादत प्राप्त गरेका ‘राजेश’लाई एकीकृत जनक्रान्तिका महान् शहीद घोषणा गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा अगाडि भनिएको छ– ‘विस्फोटनमा परी घाइते हुनुभएका सर्वसाधारण नागरिकको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दछौँ।’ उक्त घटनामा अन्य चार जना घाइतेको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।
