एजेन्सी, ३ माघ। चीनका वरिष्ठ मध्यस्थकर्ताहरूकाे टाेलीले यही महिनाको अन्त्यतिर दुई मुलुकबीचको व्यापारका विषयमा वार्ता गर्न संयुक्तराज्य अमेरिका भ्रमणमा जाने तय भएको छ।
चीनको वाणिज्य मन्त्रालयले चीनका उपप्रधानमन्त्री लिउ हीको नेतृत्वको टोली जनवरी ३० मा अमेरिका पुग्ने जनाएको छ।
यही महिनाको शुरुमा अमेरिकी वार्ताकारहरुले चीनको तीन दिने भ्रमण गरेका थिए। दुई मुलुकबीच सन् २०१९ को मार्चभित्रै व्यापारका क्षेत्रमा देखिएका समस्या सुल्झाउन अर्जेन्टिनाको ब्युनर्स आयर्समा गत वर्षको डिसेम्बरमा सहमति भएको थियो।
तीन महिने व्यापार युद्धविराम नाम दिइएको उक्त सहमति बमोजिम अमेरिका र चीन दुवैले आ–आफ्नाे वस्तु तथा सेवामा थप करवृद्धि गरेका छैनन्।
चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच भएको पूर्वसहमति बमोजिम दुई मुलुकबीचको आर्थिक तथा व्यापार विषयमा गहन छलफल हुने बताए।
उपप्रधानमन्त्री लिउ ही अमेरिकी अर्थमन्त्री स्टीभन मनचिन तथा अमेरिकी व्यापार प्रतिनिधि रबर्ट लाइटीजरको निमन्त्रणामा अमेरिका जान लागेको पनि गाओले जानकारी दिए।
दुई मुलुकबीचको व्यापार वार्तामा कुनै समाधान नखोजिए आगामी मार्च २ तारिखदेखि करिब २०० अर्ब अमेरिकी डलर बराबरका चिनीयाँ सामानमा २५ प्रतिशत करवृद्धि हुने अमेरिकी राष्ट्रपतिले बताएका छन्। अमेरिकाले यसअघि नै चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गरिसकेको छ।
चीनले समेत प्रतिशोध स्वरुप केही अमेरिकी सामानमा करवृद्धि गरेको छ।(रासस)