एजेन्सी, ३ माघ – संयुक्त राज्य अमेरिकाका विशेष शान्तिदूत जाल्मे खलिलजाद अफगानिस्तानमा जारी १७ वर्षे सशस्त्र युद्ध अन्त्यको उपाय खोजी गर्ने उद्देश्यले पुनः पाकिस्तान पुगेका छन्।
विशेष दूत खलिलजादले वरिष्ठ पाकिस्तानी अधिकारीहरुसँग विचारविमर्श गर्ने इस्लामाबादस्थित अमेरिकी दूतावासले जनाएको छ। तर यसबारे अरू विवरण भने सार्वजनिक गरेको छैन।
आफ्नो नियुक्ति भएसँगै खलिलजादले अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्न निकै प्रयत्न गरेका छन्। यसअघि भएका भ्रमणका क्रममा उनले अफगानिस्तानमा छापामार युद्ध गरिरहेको तालिबानसँग खाडी राष्ट्रमा वार्ता गरेका थिए।
यसपटक उनले मध्यपूर्वका मुलुकको भ्रमण गर्ने कार्यक्रम छैन, तर तालिबानी नेताहरुलाई पाकिस्तानमै भेट्ने सम्भावना रहेको छ।
यदि तालिबानसँग वार्ता भए खलिलजादले काबुलसँग प्रत्यक्ष वार्ता गराउन भूमिका निर्वाह गर्नेछन्। तर, तालिबानले अफगानिस्तान सरकारसँग वार्ता नगर्ने अडान राख्दै आएको छ।