काठमाडौँ - दोहोरो भिडन्तमा मारिएका भनिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारले पौडेललाई नियोजित रूपमा नियन्त्रणमा लिएर हत्या गरिएको दाबी गरेको छ। उनको परिवारले शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै यही असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका– १, लखनदेही खोलाको छेउमा षड्यन्त्रपूर्वक हत्या भएको दाबी गरेकाे हाे।
घट्नाका बारेमा बोल्दै मृतक पौडेलका भाइ हरिकृष्ण पौडेलले प्रहरीसँग मुठभेड नभई निर्देशनको आडमा प्रहरीले नियन्त्रणमा लिएर हातखुट्टा भाँचेर, दाँत झारेर गोली हानेको आरोप लगाए। उनले आफ्ना दाइको राजनीतिक जीवनका बारेमा स्वयं सरकारमा रहेकाहरू पनि जानकार रहेको बताउँदै झुटा आरोप लगाएर ठाडो निर्देशनमा मारिएको दाबी गरे। उनले भने, ‘यदि त्यो नियोजित हत्या थिएन भने बारादेखि धनुषासम्मको प्रहरी त्यहाँ कसरी पहिल्यै आइपुग्यो ?’
सादा पोशाकमा रहेका प्रहरीले दाजुको हत्या गरेको जनाउँदै उनले चार ठाउँमा भाँच्चिएको हातनजिकै हतियार राखेका फोटोहरू आफूसँग प्रमाणको रूपमा सुरक्षित रहेको समेत बताए। उनले आक्रोश पोख्दै भने, ‘हात भाँच्चिएको मानिसको त्यतिनजिकै कसरी हतियार रहन सक्छ ?’
त्यस्तै, उनले सरकारले घट्नाका बारेमा सत्य, तथ्यबाहिर ल्याउनका लागि स्वतन्त्र छानबिन समिति गठन गर्न पनि आनाकानी गरेको गुनासो पोखे। केही समाचारमा दाइको बागमती नगरपालिकाका मेयर भरतकुमार थापासँग चन्दा मागेको विषयमा वास्तविक कुरा नै नबुझेर गलत तरिकाले समाचार सम्प्रेषण गरिएको भन्दै उनले दुःखेसो पोखे।
उनले सागरनाथ वन विकास परियोजनाअन्तर्गत रहेको सुकुम्बासीको विषयलाई उठाएका कारण दाइको हत्या भएको आरोप लगाए। सरकारले थापासँग चन्दा मागेको भन्ने गलत आरोप लगाएको उनको दाबी छ। उनले भने, ‘हामीमाथि झुटो आरोप लगाइयो, ठूलो पीडामा छौँ। स्वतन्त्र न्यायिक समिति बनाएर हामीलाई न्याय दिनुपर्छ।’ परियोजनाको जग्गाामा रहेका सुकुम्बासी व्यवस्थित गर्न परियोजनासँग भएको पाँचबुँदे सहमति कार्यान्वयन गराउन खोज्दा उल्टै परियोजनाले ७५ करोडको मुद्दा हालेको पनि उनको भनाइ छ।
सो मुद्दालाई अख्तियारले हेर्दै आएको र छानबिन गरेर सुकम्बासीको हकहितमा बोलेको भन्दै अहिलेसम्म पनि नबोलाएको पनि उनले जनाए। ‘मुद्दा तामिलीमा छ, अहिलेसम्म कुनै टुंगो लागेकोे छैन,’ उनले भने।
पिरियोजनासँग भएको पाँचबुदे सहमति कार्यान्वयनका लागि आवाज उठाउँदा चन्दा मागेको आरोप लगाएर सरकारी मान्छेले नै आफ्ना दाजुलाई मारेको उनको आरोप छ।
त्यस्तै, कार्यक्रममा बोल्दै मृतक पौडेलकी श्रीमती कला पौडेलले पनि आफ्ना श्रीमानलाई षड्यन्त्रपूर्वक मारेको दाबी गरिन्। छानविन समितिले स्वतन्त्र रूपमा छानबिन गरेर आफ्नो श्रीमानको हत्यारालाई कानूनी दायरामा ल्याउनुपर्ने उनको माग छ।
श्रीमानलाई कुनै दबाब वा असुरक्षाका बारेमा कुनै जानकारी नभएको बताउँदै उनले भनिन्, ‘श्रीमानले पनि कुनै त्यस्तो अप्ठ्यारो छ भन्ने कुरा कहिल्यै गर्नुभएको थिएन।’ दोषीलाई कानूनी कारवाही गर्नुपर्ने अनि मात्रै आफूहरूले न्याय पाउने उनको भनाइ छ।
त्यस्तै, मृतकका भतिजा राजकुमार पौडेलले ‘आफ्ना काका दोषी भएको भए कसरी हजारौँ मानिसहरूले उनको अन्तिम संस्कारमा सहभागिता जनाए ?’ भन्दै रचना गरिएको षड्यन्त्रको पर्दाफास गर्न आग्रह गरे।
हत्यामा संलग्न दोषीलाई कारवाहीको माग गर्दै उनले विप्लवको सिद्वान्त बोकेकोलाई हतियार बोकेको आरोपमा मारिएको सुनाए। ‘झोलामा बन्दुक बोकेको थियो भनेर सरकारले भनिरहेको छ। भाँच्चिएको हातनजिकै हतियार कसले राखेको हो ? यहाँ ठूलो षड्यन्त्र भएको छ। घट्नाका बारेमा वास्तविक छानबिन हुनुपर्छ,’ उनले भने।
त्यस्तै, मृतक पौडेलकी दिदी लक्ष्मी पौडेलले यातना दिएर आफ्नो भाइको हत्या गराएको दाबी गरिन्। उनले आफूहरूलाई कुनै जानकारी नै नदिई प्रहरीले पोष्टमार्टम गराएको पनि सुनाइन्। उनले प्रश्न गर्दै भनिन्, ‘पोष्टमार्टम गर्नुअगाडि प्रहरी प्रशासनले हामीलाई किन जानकारी गराएन ? म सरकारलाई सोध्न चाहन्छु।’ आफूहरूलाई शव कुहिएको अवस्थामा दिइएको जनाउँदै उनले अहिलेसम्म पनि पोष्टमार्टम रिपोर्ट सार्वजनिक नगरिएकोमा आपत्ति जनाइन्।