बेरुत – सिरियाको उत्तरपश्चिममा सरकारी फौज र जिहादी–आबद्ध लडाकूबीच भएको भिडन्तमा दुबै पक्षका सय भन्दा बढी लडाकूहरु मारिएका छन्। सिरियाली अब्जरभेटरी फर ह्यूमन राइट्सका अनुसार गत बुधबारयता भएका पछिल्ला हिंसामा परेर आठ सर्वसाधारणको पनि ज्यान गएको छ।
जिसर अल–शुघुरमा सरकारी फौजले गरेको हवाई आक्रमणमा सर्वसाधारणको ज्यान गएको अब्जरभेटरीले जनाएको छ। राष्ट्रसंघका अनुसार स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मीमाथि पनि लक्षित गरी हवाई आक्रमण भएका छन्। सिरियाको गृहयुद्धमा हालसम्म तीन लाख ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। सन् २०११ देखि शुरु भएको यस गृहयुद्धबाट लाखौं मानिस अन्यत्र पलायन भएका वा शरणार्थी भएका छन्।
अब्जरभेटरीले बुधबारदेखि जारी पछिल्लो भिडन्तमा कम्तीमा ५७ जना सुरक्षाकर्मी र ४४ जना जिहादी मारिएको जनाएको छ। अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले हामा प्रान्तको उत्तर समेतका हायात तहरिर अल–शामले नियन्त्रण गरिराखेका क्षेत्रमा सरकारी फौजले भिषण हवाई हमला जारी राखेको बताए।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मानवबस्तीमा भएका हवाई हमलाको निन्दा गर्दै नागरिक र नागरिकको सेवाका लागि स्थापित पूर्वाधार, स्वास्थ्य केन्द्रहरुलाई सुरक्षित तुल्याउनु सबैको कर्तव्य रहेको बताएका छन्। (रासस–एएफपी)