बुटवल - आपराधिक क्रियाकलापका कारणले बेलाबेला चर्चामा आइरहने रूपन्देहीको देवदहमा जनप्रतिनिधिहरूले नै असुरक्षित भएको भन्दै शान्ति सुरक्षाको माग गरेका छन्। स्थानीय चुनावमा सँगै प्रतिस्पर्धी रहेका देवदह नगरपालिका– १० का वडा सदस्यलाई कुटपिट गर्नेलाई किटानी जाहेरी दिँदासमेत प्रहरीले पक्राउ नगरेको भन्दै जनप्रतिनिधि आक्रोशित बनेका हुन्।
वडा सदस्य यमबहादुर थापालाई स्थानीय निर्वाचनमा सँगै प्रतिस्पर्धी रहेका विश्वास गुरुङको नेतृत्वमा आएका युवाहरूले यही असार १८ गते हातपात गरी अभद्र व्यवहार गरेको वडा अध्यक्ष यकबहादुर सुनारले बताए।
असार १८ गते नेपाल विद्युत प्राधिकरणद्वारा देवदह नगरपालिका–१० चरङ्गेका विपन्न घरपरिवारलाई नेपाल सरकारद्वारा निःशुल्क उपलब्ध गराइएको विद्युत मिटरबक्स वितरण समारोहमा वडा सदस्य थापामाथि गुरुङको नेतृत्वमा आएका युवाले हातपात गरेको वडाका सदस्य अमर लामिछानेले बताए।
‘निर्वाचित जनप्रतिनिधिले वडामा राम्रो काम गरेको र वडावासी जनप्रतिनिधिको पक्षमा देखिएकाले आफ्नो राजनीतिक अभिष्ट पूरा हुन नसक्ने देखेर राजनीतिक पूर्वाग्रहका कारण वडा सदस्य थापामाथि हातपात गरिएको छ,’ अध्यक्ष सुनारले भने।
घटना भएको भोलिपल्ट असार १९ गते नै किटानी जाहेरी दिएकोमा हालसम्म पनि प्रहरीले पक्राउ गर्न नसक्दा असुरक्षित महसुस गरेको जनप्रतिनिधिहरूको भनाइ छ। वडा अध्यक्ष सुनारले गुरुङले आफ्नो जनप्रतिनिधि यमबहादुर थापामाथि गालि बेइजति गर्नुका साथै हातपात गरेको भन्दै ईलाका प्रहरी कार्यालय बुटवलमा सार्वजनिक मुद्दा दर्ता गराएको बताए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देवदह नगरपालिका–१० ले अति विपन्न घर परिवारलाई वितरण गर्नुपर्ने विद्युत मिटरबक्स सम्पन्न परिवार, आफ्ना वडा सदस्य र आफ्नो नजिकका व्यक्तिलाई मात्र दिएको भन्दै त्यसो नगर्न आग्रह गर्दा वडा सदस्य थापा एक्कासि आक्रोशमा आई जथाभावी गालीगलौज र हातपात गर्न खोज्दा विश्वास गुरुङले प्रतिरक्षा गरेको प्रेस विज्ञप्ति गुरूङ पक्षले सार्वजनिक गरेकाे छ।
मुद्दा दर्ता गरी कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भीमलाल भट्टराईले बताए।