काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई कोरियाबीचको सीमा क्षेत्रको भ्रमण गर्ने भएका छन् । भ्रमणको क्रममा उत्तर कोरियाली नेता किम जङ–अनसँग भेट गर्ने बताइएको छ ।
दक्षिण कोरियाली राजधानीमा आयोजित एक भोजका बखत उनले सिमानाको असैनिकीकृत क्षेत्रमा आफूले भेटघाटको कार्यक्रम आयोजना गर्ने प्रयास गरिरहेको बताए।
उनले त्यो भेटमा ‘हेलो भन्ने’ अर्थात् एक–आपसमा छोटो कुरा गर्ने योजना भएपनि त्यो ‘त्यति सहज’ नभएको बताए।
उत्तर कोरियाले चाहिँ ट्रम्पको प्रस्ताव ‘चाखलाग्दो’ भनेपनि किम सीमा क्षेत्रमा आउने नआउने पुष्टि गरिसकेको छैन। ट्रम्प उत्तर कोरियाको निरस्त्रीकरणका विषयमा छलफल गर्न दक्षिण कोरियाको भ्रमणमा छन्।
जी–२० समूहको शिखर सम्मेलनमा भाग लिन ओसाका पुगेका ट्रम्पले एक ट्वीट सन्देश मार्फत किमलाई दुई कोरियाबीचको असैनिकीकृत क्षेत्रमा भेट्न आउन निम्तो दिएका थिए। बीबीसी