काठमाडौँ – झुटो विवरण पेश गरी नेपाली नागरिकता लिएका पाँच भारतीयको नागरिकता रद्द गरिएको छ। मन्त्रीपरिषद् बैठकले उनीहरूका नागरिकता रद्द गर्ने तथा उनीहरूलाई कारवाही गर्ने निर्णय गरेको हो।
बिहीबार मन्त्री परिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उनीहरूको नागरिकता रद्द तथा कारवाही गर्ने निर्णय गरिएको जानकारी दिए। जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नेपाली नागरिकता लिएका भारतीय नागरिक जीवनकुमार सिंह, जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता लिएका धर्मेन्द्र ठाकुर र अजय कुमार ठाकुरले लिएको नेपाली नागरिकता रद्द गरिएको हो।
त्यस्तै, रौतहट जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका भारतीय नागरिक जमुना राउत भनिने यमुना सिंह र कृपाली राउत भनिने कृपाली सिंहले लिएको नेपाली नागरिकता रद्द गर्ने निर्णय गरिएको बाँस्कोटाले जानकारी दिए।