काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले लागूऔषध दुर्व्यसनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक बन्न पुगेको बताएका छन्। समृद्ध राष्ट्र निर्माणका लागि लागूऔषधरहित स्वस्थ्य जीवन भन्ने मूल नाराका साथ गृहमन्त्रालयले बुधबार आयोजना गरेको ‘लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा उनले स्वस्थ, सभ्य र अपराधमुक्त समाज निर्माणका लागि लागूऔषध दुर्व्यसनलाई रोक्नुपर्ने बताए।
गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालमा लागूऔषध दुर्व्यसनीको सङ्ख्या वर्षेनी बढ्दै गएको बताउँदै लागूऔषध दुर्व्यसनीलाई नियन्त्रण गर्न सप्ताहव्यापी अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे। सचिव राईले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्न लागूऔषध दुर्व्यसनी समस्याको समाधान गर्नु जरुरी रहेको बताए।
गृहमन्त्रालयका सहसचिव एवं मुख्य लागूऔषध नियन्त्रण अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले नेपालमा प्रत्येक वर्ष लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको बताउँदै यसलाई रोकथाम गर्न सचेतनामूलक कार्यक्रम व्यापकरूपमा अगाडि बढाउनुपर्ने बताए। उनले लागूऔषध नियन्त्रण गर्न विगतमा भएका कमी कमजोरीलाई सच्याएर सरकारले १० वर्षे कार्ययोजना बनाएर अगाडि बढाउनुपर्ने बताए।
यो पनि पढनुस्:
http://nepalipublic.com/archives/59412#.XRNfoOgzbIU
कार्यक्रममा लागूऔषध दुरुपयोगसम्बन्धी नाटक, कविता, वतृत्वकला प्रतियोगिता सम्पन्न गर्नुका साथै गृहमन्त्रालयले प्रत्येक वर्ष प्रकाशन गर्दै आएको ‘सुरक्षित जीवन’ स्मारिकाको विमोचन गरिएको थियो। अभियानका अवसरमा भृकुटीमण्डप, भद्रकाली, शहीदगेट, एनएसी, रत्नापार्क हुँदै राष्ट्रिय सभागृहसम्म पदयात्रा गरिएको थियो।
यो पनि पढनुस्:
http://nepalipublic.com/archives/55409#.XRNjfOgzbIU
संयुक्त राष्ट्रसङ्घ महासभाबाट पारित भई विश्वभर ‘लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाउन थालिएअनुसार नेपालमा पनि जुन २६ मा उक्त दिवस मनाउँदै आइएको हो।