काठमाडौँ – चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिन पिङले पार्टीका नेता तथा कार्यकर्तालाई आन्तरिक पार्टी शुद्धीकरणमा लाग्न निर्देशन दिएका छन्।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोले आयोजना गरेको समूहगत अध्ययन सत्रको अध्यक्षता ग्रहण गर्दै सीले सोमबार पार्टीका नेता-कार्यकर्तालाई आन्तरिक शुद्धीकरणमा होमिन गम्भीरतापूर्वक आहृवान गरेका हुन्।
सीले कार्यक्रममा व्यक्त गरेको भनाइ उद्धृत गर्दै सिन्ह्वाले लेखेको छ– ‘चिनियाँ कम्युनिस्ट पार्टीले दीर्घकालसम्म शासन गर्नका लागि आन्तरिक शुद्धीकरण अपरिहार्य भएको छ ।’ सिले मार्क्सवादी ढंगले शासन गर्ने जीवन्त पार्टी निर्माणका लागि जोड दिँदै यसले नै जनताको वास्तविक चाहना पूर्ति गर्ने पनि प्रष्ट पारेका छन्। त्यसका लागि पार्टी कमजोर पार्ने गतिविधि निर्मूल पार्नुपर्ने भन्दै त्यसमा जुट्न सीले नेता-कार्यकर्तालाई अपिल गरे।
चिनियाँ कम्युनिस्ट पार्टीको ९८ औं स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको कार्यक्रममा सीले पार्टी स्थापनाको लक्ष्य स्मरण गराउँदै त्यसमा उदाहरणीय ढंगले पेश हुन आहृवान गरेको सिन्ह्वाले लेखेको छ।
मन्तव्यका क्रममा सीले चिनियाँ जनताको खुसी र पार्टीको स्थापनाकालीन उद्देश्य नेता-कार्यकर्तालाई पटक-पटक स्मरण गराएका थिए।