एजेन्सी, २ माघ – केन्याको राजधानी शहर नैरोबीको एक होटल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ।
१ सय १ कोठा, रेस्टुरेन्ट, कार्यालय भवनहरू र स्वास्थ्य केन्द्रसमेत रहेको यस होटल परिसरमा मङ्गलबार अपराह्न अल शबाब इस्लामिक आतङ्ककारी समूहले आक्रमण गरेको दाबी गरेका छन्।
विस्फोटक पदार्थ बोकेका एक आत्मघाती आक्रमणकारी होटलमा छिरेको र त्यसपछि बन्दुकधारीहरूले गोली प्रहार गर्न शुरु गरेका बताइएको छ।
विदेशीसहित १५ व्यक्तिको मृत्यु भएको एक प्रहरीले जानकारी दिएका छन्। मारिएका व्यक्तिमध्ये एक अमेरिकी नागरिक रहेकाे विदेश विभागका अधिकारीले जानकारी दिएका छन्।
होटल परिसरमा फसेका दर्जनौं व्यक्ति स्थानीय समयानुसार बुधबार बिहान ३ः३० बजे बिहान भाग्न सफल भएको बताइएको छ। के कति व्यक्ति होटलमा छन् भन्ने प्रस्ट भइसकेको छैन।
यस आक्रमणको जिम्मेवारी अल–कायदासँग आबद्ध सोमालियाको अल–शबाब समूहले लिएको छ। सन् २०११ को अक्टोबरमा जिहादी समूहसँगको लडाइँमा सोमालियामा सेना पठाएपछि केन्यामा बारम्बार यस समूहले आक्रमण गर्दै आएको छ।
सन् २०१३ मा नैरोबीको पश्चिमी गेटमा रहेको एक सपिङ मलमा भएको आक्रमणमा कम्तीमा ६७ जनाको मृत्यु भएको थियो। सन् २०१५ को अप्रिल २ मा पूर्वी केन्यामा रहेका गारिस्सा विश्वविद्यालयमा शबाब समूहले गरेको आक्रमणमा कम्तीमा १४८ जनाको मृत्यु भएको थियो।(रासस)