एजेन्सी, २ माघ – लागूऔषध ओसारपसार गरेकाे आराेपमा मृत्युदण्डको सजाय सुनाइएका आफ्ना नागरिकलाई माफी दिन क्यानडाले चीनसमक्ष आग्रह गरेको छ।
३६ वर्षीय रोबर्ट लोयड सेलेन्बर्गलाई १५ वर्ष जेल सजाय हुने यसअघिकाे सजाय बढाउँदै चीनको एक अदालतले मृत्युदण्डकाे फैसला गरेकाे छ। सेलेन्बर्गलाई यस्ताे सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच कुटनीतिक विवाद चुलिएको छ।
चीनमा आफ्ना नागरिकमाथि बिना कसुर, एकपक्षीय कानुनी कारवाही गरेको क्यानडाकाे आरोप छ। चीन भ्रमण गर्नुअघि सावधानी अपनाउन पनि क्यानाडाले आफ्ना नागरिकलाई अनुरोध गरेको छ।
गत वर्षको डिसेम्बरमा चिनियाँ टेलिकम कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वान्झाओलाई अमेरिकी अनुरोधमा क्यानाडाले पक्राउ गरेपछि दुबै देशबीचको सम्बन्धमा तिक्तता आएको छ।
“हामीले क्यानाडास्थित चिनियाँ राजदूतसमक्ष यसबारे कुरा राखिसकेका छौं र हामीले क्यानाडेली नागरिकलाई माफी दिन आग्रह गरेका छौं,” क्यानाडाका विदेशमन्त्री क्रिस्टिया फ्रील्यान्डले बताएका छन्। विदेशमन्त्री फ्रील्यान्डले क्यानाडाले लामो समयदेखि कसैलाई मृत्युदण्डकाे सजाय नदिएको पनि स्मरण गराएका छन्।
“हाम्रो विश्वास छ यो अमानवीय र अनुपयुक्त हो, र कुनै पनि क्यानाडेली नागरिकका हकमा यस्तो सजाय भए हामी विरोध गर्दछौं,” उनले भने। हुवावेको विवादसँगै चीनले अरु दुईजना क्यानाडेली नागरिकलाई राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको भन्दै पक्राउ गरेकाे छ।
ह्युमन राइट्स वाचका कार्यकारी निर्देशक केन्नेथ रथले चीनले “शरीर बन्धक राजनीति” गर्न थालेको आरोप लगाएका छन्।चीनमा हरेक वर्ष एक वा दुईजना विदेशीले मृत्युदण्डको सजाय पाउने गरेकाे सार्वजिनक हुँदै आएकाे छ।