काठमाडौँ - नेपाली कांग्रेसका नेताहरू जनजागरण अभियानपछि विश्व जागरण अभियानमा जुटेका छन्। कांग्रेस जागरण अभियान गत वैशाख २५ गते प्रारम्भ भएर यही जेठ २५ गते सम्पन्न भएको थियो।
जागरण अभियानको दोस्रो चरण आगामी भदौ २४ गते (विपी जयन्तीका दिन) प्रारम्भ भई असोज ७ गतेसम्म चल्नेछ। प्रथम चरणमा खटिएका केन्द्रीय प्रतिनिधिले आगामी असार १४ गतेभित्र आफ्नो लिखित प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने निर्देशन गरिएको छ।
कांग्रेस प्रवक्तामा विश्वप्रकाश शर्मा चुनिएदेखि जागेको कांग्रेस आज विश्वमा रहेका कांग्रेसीहरूलाई लोकतन्त्र, राष्ट्रियता, धर्म संस्कृति र नेकपाको सरकारका विरुद्धमा खबरदारी गर्दै समृद्ध नेपालको महाअभियानमा साथ दिन आग्रह गरिरहेको छ।
डेनमार्कको राजधानी कोपनहेगनमा विश्वका २३ देशका नेता कार्यकर्ताहरूको भेला जारीछ। उक्त प्रशिक्षण कार्यक्रममा नेपालबाट महामन्त्री डा. शशांक कोइराला, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, डा. रामशरण महत, धनराज गुरुङ, भीष्मराज आंगदम्बे, गोबिन्द भट्टराईलगायत नेता पुगेका छन्।
शनिरबार डेनमार्कको राजधानी कोपनहेगनमा कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठाद्वारा आयोजित नेपाली जनसम्पर्क समितिको प्रथम विश्वस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उपसभापति विमलेन्द्र निधिले देश बाहिर र देशभित्रका कांग्रेसी एकजुट भएर लोकतन्त्रको रक्षामा उभिनु पर्ने समय आएको बताए।
उपसभापति निधीले सत्तासीन दलका कारण लोकतान्त्रिक गणतन्त्रमाथि खतरा उत्पन्न भएको बताए। उनले भने, ‘लोकतन्त्रवादी शक्ति एक हुनु पर्ने समय आएको छ। लोकतन्त्रको रक्षा गर्न लोकतन्त्रबादीहरूको प्रमुख दायित्व हो। सरकारको नेतृत्व गरिरहेको नेकपाबाट संघीयतामाथि विश्वास लिन सक्ने अवस्था छैन। नेकपाले लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध नभएकाले संघीयताविरुद्ध हाकाहाकी कुरा गरिरहेको छन्।’
त्यस्तै कार्यक्रममा कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीमा गुट उपगुटका कुरा छाडेर एक जुट हुन आग्रह गरेका थिए। महामन्त्री कोइरालाले कांग्रेसी एकजुट भएर हिड्ने हो भने कुनै पनि शक्तिलाई पराजित गर्न सकिने बताए।
कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम, दाहाल, नेपाली जनसम्पर्क समिति जर्मनीका संस्थापक अध्यक्ष दिल बहादुर गुरुङ, स्पेनका संस्थापक अध्यक्ष चिन्तामणी सापकोटालगायतले कार्यक्रमको सफलतामा शुभकामना दिएका थिए। आज (आइतबार) कार्यक्रममा विश्वका २३ देशका करिब २ सय जनाको सहभागीता रहने छ।