एजेन्सी, २ माघ – बंगलादेशमा तयारी पोशाक उद्योगका मजदूरहरूको हडताल जारी छ। राजधानी ढाकाका सडकहरूमा प्रदर्शनमा उत्रिएका मजदूरहरूले सवारी आवागमन रोक्ने प्रयास गरेका छन्।
सरकारले गार्मेन्ट उद्योगका मजदूरहरूका लागि तयार पारेको नयाँ तलब संरचना लागू गरेको छ। तर, मजदूरहरूले भने आफूहरूको नयाँ संरचना अनुसारको तलब नपाएका कारण हडताल जारी राखेका छन्।
अझ केही मजदूरले त यसअघि पाउँदै आएको तलब पनि घटेको भन्दै गुनासो गरेका छन्। उचित तलबको माग गर्दै मजदूरहरू सडकमा उत्रिएपछि सरकारले केही दिनअघि नै तलबको समीक्षा गर्न समिति गठन गरेको थियो। मंगलबारसम्म जारी हडतालले नवौँ दिन पूरा गरिसकेको छ।
अघिल्लो मंगलबार श्रमिक र प्रहरीबीच भएको झडपमा एक जना श्रमिकको मृत्यु भएको थियाे।
अहिलेसम्म विरोध प्रदर्शनका कारण सयभन्दा बढी कारखाना प्रभावित भएको तयारी पोशाक उत्पादक तथा निर्यातकर्ताहरूको संगठन (बीजीएमईए)ले बताएको छ। खुलेका कारखानामा पनि सप्ताह लामो प्रदर्शनका कारण उत्पादन घटेको छ।
सेप्टेम्बरमा प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारले गार्मेन्ट श्रमिकको न्यूनतम तलब ५२ प्रतिशत बढाएर मासिक ८ हजार टाका (९५ डलर) पुर्याउने प्रस्ताव राखेको थियो। यद्यपि, श्रमिकहरूले भने मासिक १६ हजार टाका (१ सय ९१ डलर) न्यूनतम तलब हुनु्पर्ने माग राख्दै आएका छन्।
बंगलादेश गार्मेन्ट उद्योगले वार्षिक ३० अर्ब डलरको तयारी पोशाक निर्यात गर्दै आएको छ। त्यो बंगलादेशको कुल वस्तु निर्यातको ८० प्रतिशत हो।