काठमाडौँ–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी साता जानपानमा भेटवार्ता हुने भएका छन्। दुई देशका राष्ट्रपतिबीच टेलिफोन वार्तामा आउने सातामा जापानमा भेटवार्ता हुने बताइएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै टेलिफोन वार्ता भएको पुष्टि गरेसंगै उनीहरुबीच आगामी साता जापानको ओसाकामा हुने जी–२० राष्ट्रहरूको शिखर सम्मेलनका क्रममा व्यापार वार्ता हुने पनि जनाएको छ। सो वार्ताअघि नै अमेरिका र चीनका प्रतिनिधिबीच अवरूद्ध व्यापार वार्ता सुरू हुनेछ। चीनले पनि जापानमा दुई राष्ट्रपतिबीच भेट हुने र त्यसको तयारीका लागि दुबै देशका व्यापार प्रतिनिधिबीच छलफल हुने पुष्टि गरेको छ।
पछिल्लो एक महिनादेखि अमेरिका र चीनबीचको व्यापार वार्ता हुन सकेको थिएन। भएका सहमतिबाट चीन पछि फर्केको आरोप अमेरिकाले लगाएपछि वार्ता भंग भएको थियो।
विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच ‘व्यापार युद्ध’ चर्किएपछि विश्व सेयर बजारमा ठूलो गिरावट आएको छ। यो युद्ध चर्किँदै गयो भने विश्व अर्थतन्त्रमा मन्दी आउने चेतावनी अर्थशास्त्रीहरूले दिएका छन्।
दुई राष्ट्रपति जापानमा भेट्ने र दुबै मुलुकका प्रतिनिधिबीच व्यापार वार्ता सुरू हुने खबरले विश्वका प्रमुख सेयर बजारमा बुधबार राम्रो सुधार भएको छ। तर अमेरिका र चीन तत्काल सहमतिमा पुग्न सक्छन् भन्नेमा आशंका पनि उत्तिकै छ।
किनभने आगामी वर्ष हुने राष्ट्रपति चुनावको प्रचारप्रसार अमेरिकाको फ्लोरिडामा सुरू गर्दै राष्ट्रपति ट्रम्पले चीनसँगको व्यापार युद्धलाई प्रमुख मुद्दाको रुपमा उठाएका छन्।
फ्लोरिडाको चुनावी -यालीलाई सम्बोधन गर्दै ट्रम्पले भनेका थिए, ‘चीनले गरेको अमेरिकासँगको व्यापार दुरूपयोग रोक्न मैले ऐतिहासिक कदम चालेको छु।’ उनले थपे, ‘यो काम धेरैअघि नै गर्नु पर्ने थियो। अमेरिकाको रोजगारी, सम्पत्ति र प्रविधि चोर्ने दिन अब सकिए।’