काठमाडौँ – अर्को कार्यकालका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो चुनाव प्रचार अभियानको औपचारिक रूपमा थालनी गरेका छन्। उनले फ्लोरिडामा आयोजित एक र्यालीलाई सम्बोधन गर्दै सन् २०२०मा हुने अर्को राष्ट्रपति चुनाजका लागि औपचारिक अभियान सुरु गरेको बीबीसीले उल्लेख गरिएको छ।
फ्लोरिडा राज्य आफ्नो “दोस्रो घर“ भएको बताउँदै उनले समर्थकहरूलाई अर्को चार वर्षको लागि “एक ढिक्का रहन“ आग्रह गरेका थिए। कार्यक्रममा उनले विपक्षी डेमोक्र्याटिक पार्टीका सदस्यहरूको आलोचना गर्दै उनीहरूले देशलाई “टुक्रा टुक्रा पार्न“ खोजेको आरोप पनि लगाए।
तर प्रारम्भिक मत सर्वेक्षणहरूले ट्रम्प सम्भाव्य डिमोक्र्याटिक प्रतिद्वन्द्वीहरूभन्दा पछाडि रहेको देखाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। यस्तै ओर्ल्यान्डोको सभामा बोल्दै ट्रम्पले भने, “हामी अमेरिकालाई महान बनाइ राख्ने छौँ। आज म तपाईँहरू सामु उभिएर दोस्रो कार्यकालको लागि संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वा्चिन हुनका लागि औपचारिक रूपमा प्रचार अभियान थाल्दैछु।“
कस्तो होला उनको चुनावी रणनीति ?
ओर्ल्यान्डोमा सम्बोधन गर्दै उनले देशले सबभन्दा पहिले उसका नागरिकको हेरविचार गर्नु पर्ने बताए। “अमेरिकी सपना“ अझ राम्रो, ठूलो र बलियो बनेको उनले बताए। राष्ट्रपति ट्रम्पले अमेरिकालाई बलियो अर्थतन्त्र तथा आप्रवासीबारे कडाइको नीतिलाई मतदाताले रुचाउने विश्वास गरेका छन्।
उनको अनौठो नेतृत्व शैली तथा विभाजनकारी मानिने नीतिप्रतिको असहमतिलाई ती योजनाले जित्ने ट्रम्पको आशा छ। र्यालीमा प्रथम महिला मेलानिया ट्रम्प पनि उपस्थित थिइन्।
कतिपय मत सर्वेक्षणले भने महत्वपूर्ण राज्यहरूमा ट्रम्प पूर्व उपराष्ट्रपति जो बाइडन लगायतका डेमाक्र्याटिक प्रतिद्वन्द्वीभन्दा पछाडि परिरहेको देखाएका छन्।
https://twitter.com/realDonaldTrump/status/1141163403186245632
सन् २०१६ को चुनावमा ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार हिलरी क्लिन्टनलाई पराजित गरेका थिए। उक्त चुनावमा रुसी हस्तक्षेप भएको भनेर लामो समयदेखिको विवादले अमेरिकी राजनीति प्रभावित रहँदै आएको छ।
आप्रवासीबारे ट्रम्पले के भने ?
सोमवार राति ट्वीट सन्देश लेख्दै ट्रम्पले अमेरिकामा रहेका सूचिकृत नभएका सबै आप्रवासीहरूलाई उनीहरू “जति छिटो अमेरिका आए त्यति नै छिटो देश निकाला गरिने“ चेतावनी दिएका छन्। यो महिनाको सुरुमा एक अमेरिकी अधिकारीले अमेरिका छोड्न निर्देशन दिइएका सबै आप्रवासीहरूले तिनका परिवारजनसहित देश छोड्नु पर्ने बताएका थिए। उनले तिनको अनुगमन गरिने बताएका थिए।