नयाँ दिल्ली– हातखुट्टा बाँधेर जादु देखाउन नदीमा छिरेका भारतका एक प्रख्यात जादुगर बेपत्ता भएका छन्। उनको मृत्यु भएको आशंका गरिएको छ। बीबीसीले जनाएअनुसार पश्चिम बङ्गालको कोलकातास्थित हूग्ली नदीमा जादु देखाउनका लागि हातखुट्टा बाँधेर चञ्चल लाहिरी नदीबाट बाहिर निस्कन नसहेको हो।
उनी सुरक्षित रूपमा बाहिर आउने अपेक्षा गरिए पनि नदी बाहिर नआएको भारतीय अधिकारीहरुले जनाएको छ। उनी पानीभित्रै हराएको बीबीसीले लेखेको छ।
बीबीसीमा अनुसार ‘मानिसहरू उनी पानीमा छिरेको हेर्न जम्मा भएका थिए। तर पछि ती जादुगर बाहिर ननिस्किएपछि उनीहरूले प्रहरीलाई खबर गरे।’ उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। छवटा ताला लगाइएको साङ्लोले उनको खुट्टा बाँधिएको थियो। उनलाई एउटा डुङ्गाबाट पानीमा ओरालिएको झरिएको थियो।
नदीमा दुईवटा डुङ्गामा बसेर तथा माथि पुल र नदी किनारमा भेला भएर मानिसहरूले त्यो रमिता हेरेका थिए। प्रहरी र गोताखोरहरूले नदीमा आइतवार साँझ खोजी गरेका थिए। तर लाहिरी भेटिएनन्। एक अधिकारीले हिन्दूस्तान टाइम्स पत्रिकालाई बताएअनुसार शव नभेटिएसम्म उनलाई मृत घोषणा गर्न सकिँदैन।
किन गरे जोखिमपूर्ण जादु?
एउटा स्थानीय पत्रिकाका लागि फोटो खिच्ने जयन्त श पनि लाहिरीको जादु हेर्न गएका थिए। जादुको काम सुरु हुनुभन्दा अगाडि आफूले लाहिरीसँग कुरा गरेको बीबीसीलाई बताएका छन्। उनी भन्छन्, “मैले किन ज्यान जोखिममा पारेर जादु देखाउन लागेको भनेर सोधेको थिएँ। उनी हाँसे र भनेः मैले राम्ररी गरे भनेँ यो जादु हुन्छ। मैले गल्ती गरेँ भने यो दुस्खान्त हुन्छ।“
ती जादुगरले मानिसहरूमा “जादुप्रति रुचि जगाउन“ त्यसो गर्न खोजेको शलाई बताएका थिए। पानीभित्र जोखिमपूर्ण जादु देखाउने यो उनको पहिलो प्रयास भने थिएन। बीस वर्षअघि एउटा सिसाको बाकसमा राखेर उनलाई पानीभित्र छोडिएको थियो। त्यतिबेला उनी सकुशल बाहिर आएका थिए।
शले त्यो जादु पनि हेरेका थिए। “उनी यसपालि पानीबाहिर आउँदैनन् भन्ने मैले कल्पना पनि गरेको थिइनँ,“ उनले भने।
बीबीसीको सहयोगमा