हङकङ– हङकङमा भईरहेको प्रदर्शन अझै रोकिएको छैन। त्यहाँका कुनै पनि अपराधका अभियुक्तहरूलाई सुपुर्दगीका लागि चिनियाँ मुख्य भूभाग पठाउन सक्ने व्यवस्था गरिएको विधेयक स्थगित गर्ने घोषणा सरकारले गरिएको भए पनि प्रदर्शन नरोकिएको हो।
विधेयकको विरोधमा आइतवार झन्डै २० लाख मानिसहरू प्रदर्शनमा सहभागी भएको आयोजकहरूले दाबी गरेका छन्। उक्त प्रदर्शनमा सहभागी मानिसहरुको संख्या पुष्टि भएमा त्यो हङ्कङको इतिहासकै सबैभन्दा ठूलो प्रदर्शन हुने बिबिसीले उल्लेख गरिएको छ।
तर प्रहरीका अनुसार आइतवारको प्रदर्शनमा झन्डै साढे तीन लाख प्रदर्शनकारी मात्रै सहभागी भएका थिए।
हङकङका अभियुक्तलाई मुद्दाको पुर्पक्षका लागि चिनियाँ मुख्य भूभागमा सुपुर्दगी गर्न सकिने व्यवस्था गरिएको विधेयकका कारण त्यहाँ तनाव बढिरहेको छ। आइतवार ठूलो प्रदर्शन भएपछि थुप्रै प्रदर्शनकारीहरूले सडकमै रात बिताएका थिए। उनीहरूले सडकमा छेकबार पनि लगाएको विवरण प्राप्त भएको छ।
तर त्यहाँको वातावरण शान्त रहेका र प्रहरीको संख्या पनि पातलो रहेको बताइएको छ। प्रदर्शन चर्किएपछि हङकङका अधिकारीहरूले सुपुर्दगी विधेयकलाई स्थगन गरिदिएका छन्। तर त्यो पूरै फिर्ता लिनुपर्ने प्रदर्शनकारीहरूको अडान छ।
‘आइतवारको प्रदर्शनमा झन्डै २० लाख मानिस सहभागी भएका छन्।’ सिभिल ह्युमन राइट्स् फ्रन्टका नेता जिमी शामले संचारकर्मीलाई बताए।
आइतवारको प्रदर्शन केही दिनअघिको भन्दा शान्त थियो। बुधवार प्रहरी र प्रदर्शनकारीबीचको झडपमा केही मानिस घाइते भएका थिए। शनिवार लडेर एक प्रदर्शनकारीको मृत्यु भएको थियो। उनको सम्मानमा धेरै प्रदर्शनकारीहरूले सेतो फूल बोकेका थिए।
क्यारी लामको राजीनामा माग
रात परेपछि प्रदर्शनकारीहरूले विधायन परिषद् जाने सडकहरूमा अवरोध तेस्र्याउन थालेका थिए। हङकङकी नेतृ क्यारी लामले आइतवार विधेयक प्रस्ताव गरिएकोमा क्षमायाचना गरेकी थिइन्।
तर हङ्कङमा चिनियाँ प्रभाव बढ्ने चिन्ता व्यक्त गरिरहेका प्रदर्शनकारीहरू उनले राजीनामा दिनुपर्ने बताउँछन्। एक ६७ वर्षीय प्रदर्शनकारी माले भने, ‘क्यारी लामले हङकङवासीका इच्छा आकाक्षालाई बेवास्ता गरिरहेकी छन्।’
यसैबीच पाँच वर्षअघि आयोजित ‘छाता आन्दोलनुका अगुवा विद्यार्थी नेता जोशुवा वोङ सोमवार थुनामुक्त भएका छन्। उनले पनि क्यारी नामको राजीनामा माग गरेका छन्। बिबिसीकाे सहयाेगमा