काठमाडौँ – पश्चिम भारतको गुजरात राज्यमा ठूलो आँधीबाट जोगाउन त्यहाँका ३ लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। आँधी आउनुअघि जोखिम हुने अनुमान गरिएका क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने क्रम भइरहेको त्याँहाको सरकारी अधिकारीहरूले बताएका छन्।
वायु नाम दिइएको शक्तिशाली आँधी तटीय क्षेत्रमा बिहीवार बिहान आइपुगेपछी त्यसको वेग प्रतिघण्टा १६० किलोमिटर हुने अनुमान गरिएको छ। अहिले त्यो आँधी पोरबन्दर नजिकै आइपुगिसकेका मौसमविद्हरूले बताएको बिबिसीले उल्लेख गरिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आँधी आउने स्थानमा मानिसहरूलाई सुरक्षित रहन आग्रह गरेका छन्। पूर्वतयारीका लागि अधिकारीहरूले तीन लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिसकेको बताइएको छ।
रेल तथा हवाई उडान सेवा तत्कालका लागि स्थगित गरिएको छ भने गुजरातको प्रमुख समुद्री बन्दरगाह पनि बन्द गरिएको भारतीय संचार माध्यमहरुले लेखेका छन्। यस्तै त्याँहाका स्थानीय विद्यालयहरू पनि बन्द गर्न आदेश दिइएको छ। भारतको राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले जोखिममा पर्न सक्ने क्षेत्रमा विपद् व्यवस्थापन टोलीहरू खटाएको छ। विपद् व्यवस्थापन शिविरहरू पनि खोलिएको छ।
उक्त आँधी पोरबन्दरनजिकै तटीय क्षेत्रमा बिहीवार बिहान बज्रिने अनुमान गरिएको छ। त्यसको गति १५० देखि १७० किलोमिटर प्रतिघन्टाको हुने मौसमविद्को भनाइ छ। एउटा ट्वीटमा प्रधानमन्त्री मोदीले आँधीको बाटोमा पर्ने स्थानका मानिसहरू सुरक्षित हुन् भन्ने आशा व्यक्त गरेका छन्। सरकार तथा स्थानीय निकायले महत्त्वपूर्ण सूचना तत्कालै प्रवाह गरिरहेको बताइरहेका छन्।
यो आँधी सन् १९९८ मा झन्डै दश हजार मानिसको ज्यान लिएको घातक आँधीपछि आएको नराम्रो आँधी हुन सक्ने भय व्यक्त गरिएको छ। गत मे महिनामा पूर्वी तटीय ओडिशामा आएको आँधी फणीमा परी कम्तीमा ८० जनाको ज्यान गएको थियो। त्यो आँधीको वेग २०० किलोमिटर प्रतिघण्टा थियो। आँधी आउनुअघि गरिएको स्थानान्तरणका कारण हताहत हुनेको संख्या कम भएको बताइन्छ। बिबिसीको सहयोगमा