काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गोर्खा सैन्य भर्तीसम्बन्धी नेपाल, भारत र ब्रिटेनबीच भएको त्रिपक्षीय सन्धिको व्यापक पुनरवलोकन गर्नुपर्ने जनाएका छन्। ब्रिटेन भ्रमणमा रहेका ओलीले आफ्नी ब्रिटिश समकक्षी टरिजा मेसँगको भेटघाटमा त्यस्तो जनाएका हुन्।
मङ्गलवार अपराह्न ब्रिटिश प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रीटमा भएको छोटो भेटवार्तामा ओलीले सन् १९४७ मा ब्रिटेन, भारत तथा नेपालबीच भएको त्रिपक्षीय सन्धियता परिस्थिति निकै बदलिइसकेकाले त्यसको पुनरवलोकन गर्नुपर्ने भनाइ राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बीबीसीलाई बताए। प्रधानमन्त्री ओलीले गोर्खा सैनिकहरू नेपाल र ब्रिटेनबीचको सम्बन्धमा सबैभन्दा स्पष्टसँग देखिने कडी भएको बताएका थिए।
https://twitter.com/TheRealKalamchi/status/1138445230397698049
उनले भूतपूर्व गोर्खा सैनिकहरूका केही मागलाई सम्बोधन गरेकोमा ब्रिटिश सरकारलाई धन्यवाद दिँदै ब्रिटिश जनता र राजमुकुटप्रति गोर्खालीहरूको अद्वितीय सेवालाई ख्याल गर्दै उनीहरूका मागप्रति ध्यान दिन आग्रह पनि गरेका थिए।
त्यसको उत्तरमा प्रधानमन्त्री मेले ब्रिटिश गोर्खा सैनिकहरूको ऐतिहासिक योगदानको प्रशंसा गर्दै यो विषयबारे आफ्ना उत्तराधिकारीलाई जानकारी गराउने बताइन्। ब्रिटिश प्रधानमन्त्री टरिजा मेले गत सातामात्रै सत्तारूढ कन्जर्भे्टिभ पार्टीको नेता पदबाट राजीनामा दिएकी थिइन्। अब केही सातापछि चुनिने सत्तारूढ दलका नयाँ नेता ब्रिटेनको नयाँ प्रधानमन्त्री हुनेछन्।
गोर्खा मुद्दा
भूतपूर्व गोर्खा सैनिकहरूले निवृत्तिभरण आदि विषयमा आफूहरूलाई भेदभाव गरिएको बताउँदै आफ्ना मागहरू सम्बोधन नगरिए फेरि नयाँ चरणको आन्दोलन थाल्ने चेतावनी दिँदै आएका छन्।
तर ब्रिटिश सरकारले भूतपूर्व गोर्खा सैनिकहरूप्रति भेदभाव भएको भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ। उसले गत मार्च महिनामा भूतपूर्व गोर्खा सैनिकहरूको पेन्सन ३४ प्रतिशतसम्म बढाइने घोषणा गरेको थियो।
https://twitter.com/TheRealKalamchi/status/1138474758478188545
भूतपूर्व गोर्खा सैनिकहरूले भने सन् १९९७ भन्दा अघि सेवानिवृत्त भएका ब्रिटिश सैनिकहरूको तुलनामा आफूहरूले पाउने पेन्सन अझै निकै कम रहेको बताएका छन्। ओलीले सांसदहरूको सर्वदलीय समूहलाई सम्बोधन पनि गरे।
https://twitter.com/RoyalFamily/status/1138441464189468672
यसअघि प्रधानमन्त्री ओली स्विट्जरल्यान्डको जिनेभामा अन्तराष्ट्रिय श्रम सङ्गठन (आईएलओ) स्थापनाको सय वर्ष पुगेको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गरी सोमवार लन्डन आइपुगेका थिए।
मङ्गलवार प्रधानमन्त्री ओलीले लन्डनस्थित नेपालो दूतावासमा गैरआवासीय नेपाली सङ्घका अगुवाहरूलाई पनि भेटेका थिए।
गैरआवासीय नागरिकता
भेटमा गैरआवासीय नेपाली सङ्घका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले नेपालको संसद्मा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा रहेको गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई छिटो, छरितो र झन्झटमुक्त बनाउन आग्रह गरेका थिए। त्यस्तै गैरआवासीय नेपाली सङ्घ युकेका अध्यक्ष योगकुमार फगामीले ’नेपाल भ्रमण वर्ष २०२०’ का अवसरमा नेपाल वायुसेवा निगमको लन्डन(काठमाण्ड) सीधा हवाइसेवा सञ्चालन गर्न माग गरेका थिए।
https://twitter.com/PradeepgyawaliK/status/1138453046357311489
बुधवार बिहान लन्डनस्थित नेपाली दूतावासद्वारा आयोजित समारोहमा सहभागी भएर ओली भूमिगत रेलबाट लन्डनबाट फ्रान्सको प्यारिस जानेछन्। प्रधानमन्त्री ओलीको आउँदो आइतवार स्वदेश फर्कने कार्यक्रम छ।बिबिसी