नूरसुल्तान – कजाखस्तानको राष्ट्रपतिमा कासिम–जोमार्ट टोकायेभ ७० प्रतिशतभन्दा बढी मत प्राप्त गरी विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार नवनिर्वाचित राष्ट्रपति टोकायेभले ७०.७६ प्रतिशत र उनका निकटवर्ती अमिरझान कोसानोभले १६.२ प्रतिशत मत प्राप्त गरेका थिए।
टोकायेभले कजाखस्तानका राष्ट्रपिता नूरसुल्तान नजरबायेभले समर्थन गरेका थिए। पूर्वराष्ट्रपतिसमेत रहेका नजरबायेभले विगत तीन दशक मुलुकको सत्ता सम्हालेका कारण निकै शक्तिशाली र लोकप्रिय मानिन्छ। मुस्लिम बहुसंख्यक रहेको कजाखस्तानमा गत आइतबार भएको निर्वाचनका क्रममा भने निकै ठूला ठूला प्रदर्शन भएका थिए।
चुनावमा धाँधली भएको आरोप लगाउँदै विपक्षीहरुले चुनाव बहिस्कार गर्न आमजनतालाई आह्वानसमेत गरेका थिए। चुनावी हिंसाका कारण ५ सयभन्दा बढी व्यक्तिलाई हिरासतमा लिइएको गृह मन्त्रालयले जनाएको छ। कजाखस्तानको ठूलो शहर अल्माटीमा एएफपीका दुई पत्रकारलाई पनि प्रहरीले हिरासतमा लिएको थियो। पक्राउ परेका सबैलाई प्रहरीले मुक्त गरेको छ।(रासस)