एजेन्सी, ३० पुस — इरानको राजधानी तेहराननजिकै सेनाको एक कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन्।
इरानी सेनाले दिएको जानकारी अनुसार सो विमानमा १६ व्यक्ति सवार थिए। तीमध्ये विमानमा एकजना उडान इन्जिनियर मात्र जिवीत रहेका थिए।
कार्गो बोइङ ७०७ विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएपछि दुर्घटनाग्रस्त भएको इरान वायुयान संगठनका प्रवक्ता रेजा जाफार्जादेशले सरकारी सञ्चारमाध्यम आइआरआइबीलाई बताएका छन्।
आइआरआइबीले शुरुमा दिएको जानकारीअनुसार यस विमानमा १० व्यक्ति मात्र सवार रहेका थिए। तासनिम समाचार समितिका अनुसार सेनाको यो कार्गो विमानले काजकिस्तानको राजधानीबाट मासुजन्य खाद्य पदार्थ लिएर फर्किरहेको थियो।
आल्बोर्ज प्रान्तको फाथ विमानस्थलमा अवतरण हुन लागेको यो विमानले एक भवनलाई ठक्कर दिँदै धावनमार्गभन्दा बाहिरपट्टी जबर्जस्ती अवतरण हुन खाेज्दा दुर्घटनामा परेको आइआरआइबीले जानकारी दिएको छ।