काठमाडौँ – चीनका राष्ट्रपति सी जिन्पिङले रुसी समकक्षी भ्लादिमर पुटिनलाई ‘निकटका मित्र’ भन्दै उनको प्रशंसा गरेका छन्। चीन र अमेरिकाबीच व्यापारयुद्ध चर्किएको बेलामा सी तीनदिने भ्रमणका लागि रुस पुगेका छन्।
उनको यो भ्रमण चीन र रुसबीच व्यापार र अन्य सम्बन्धबारे केन्द्रित छ। युक्रेनमा भएको द्वन्द्वका कारण अन्य पश्चिमा राष्ट्रसँग सम्बन्ध बिग्रिएपछि रुसले पूर्वी राष्ट्रहरूसँग आफ्नो सम्बन्ध सुधार्ने निर्णय गरेको थियो।
दुई पक्षले व्यापारिक सहमतिहरूमा हस्ताक्षर गरे भने राष्ट्रपति सीले मस्कोस्थित चिडियाखानालाई दुईवटा पान्डा हस्तान्तरण गरे। चिनियाँ राष्ट्रपति बुधवार मस्को पुगेका हुन्। उनले एउटा पत्रकार सम्मेलनमा बोल्दै पुटिनसँग आफ्नो ‘गहिरो व्यक्तिगत मित्रता’ भएको बताए।
‘छ वर्षमा हामीले झन्डै ३० पटक भेटेका छौँ। मैले सबैभन्दा धेरै भ्रमण गरेको देश रुस हो र राष्ट्रपति पुटिन मेरा सबैभन्दा निकटका मित्र तथा सहकर्मी हन्’, उनले भने। पुटिनले रुस र चीनको सम्बन्ध अभूतपूर्व तहमा पुगेकोमा आफू प्रसन्न भएको बताए। ‘यो संसारभरिका लागि साझेदारी र रणनीतिक सहकार्य हो’, उनले भने।
चीन र रुस कसरी ‘निकटका मित्र’?
युरोप र विशेषगरी अमेरिकाले एक्लो पारेको अनुभूति गरेपछि चीन र रुसबीच गठबन्धन बनेको हो। पाँच वर्षअघि युक्रेनमा भएको रुसी हस्तक्षेपका कारण रुसमाथि प्रतिबन्ध लगाइएपछि उसको पश्चिमा राष्ट्रहरूसँग सम्बन्ध बिग्रिएको हो।
सन् २०१५ मा सिरियामा बशर अल असदको सत्तालाई सघाएकोमा पनि रुसको आलोचना हुने गरेको छ। डोनल्ड ट्रम्पको नेतृत्वमा भएको सरकारले राष्ट्रिय आर्थिक स्वार्थका लागि भन्दै भूमण्डलीकरणको मान्यतालाई बेवास्ता गरेपछि चीन र अमेरिकाबीच सम्बन्ध बिग्रिएको छ। यी देशबीच अहिले व्यापारिक युद्ध चर्किएको छ।
विवाद समाधान गर्न गरिएका वार्ता असफल भएपछि दुवै देशले एकअर्काबाट आयात हुने सामग्रीमा चर्को कर लगाउने घोषणा गरेका छन्। पश्चिमबाट परित्यक्त भएको दुवैले महसुस गरेकाले चीन र रुस आर्थिक र सैन्य सहकार्यका लागि नजिकिएको पर्यवेक्षकहरू बताउँछन्।
उनीहरूको साझेदारीका कारण व्यापारमा पनि वृद्धि भएको छ। क्रेमलिनका अनुसार सन् २०१८ मा व्यापार २५ प्रतिशतले बढेर १०८ अर्ब अमेरिकी डलर पुगेको थियो।
कस्ता सहमति हुँदैछन्?
सीको भ्रमणका बेला दुवै देशले भविष्यमा सैन्य र आर्थिक सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। हस्ताक्षर गरिएका विविध सहमतिमध्ये एउटा सहमति विशेष छ। त्यसअनुसार रुसी दूरसञ्चार कम्पनी एमटीएसले विवादास्पद चिनियाँ कम्पनी ह्वावेईसँग मिलेर रुसमा फाइभजी सञ्जाल विस्तार गर्नेछ।
अमेरिकाले ह्वावेईले राष्ट्रिय सुरक्षामा खतरा र्पुयाउन सक्ने भन्दै सो चिनियाँ कम्पनीलाई अमेरिकी संस्थाहरूसँग सहकार्य गर्न प्रतिबन्ध लगाएको छ। सो प्रतिबन्धका कारण ह्वावेईलाई युरोप, अस्ट्रेलिया र जापानमा पनि काम गर्न असहज हुने देखिएको छ।
तर सीको भ्रमणमा रक्षा र व्यापारसम्बन्धी विषयमा मात्रै कुरा भएन, चीनले आफ्नो ‘पान्डा कूटनीति’ को पनि अभ्यास गर्न भ्यायो। सीले मस्कोस्थित चिडियाखानालाई दुईवटा पान्डा हस्तान्तरण गरे। ती वन्यजन्तुलाई गत एप्रिल महिनामा चीनबाट रुस पठाइएको थियो। (बीबीसी)