अस्ट्रेलिया- बन्दुकधारीले जथाभावी गोली प्रहार गर्दा अष्ट्रेलियामा कम्तीमा ४ जनाको मृत्यु भएको छ। नर्दन टेरिटोरी राज्यको राजधानी डार्बिनमा भएको गोली हानाहानमा ४ जनाको घटनास्थालमै मृत्यु हुनुका साथै २ जना घाइते पनि भएका छन्।
बन्दुकधारीले मंगलबार साँझ सटगन लिएर जथाभावी गोली प्रहार गरेका थिए।
स्थानीय समाचारमाध्यमका अनुसार एक व्यक्तिले सटगनबाट जथाभावी गोली प्रहार गरेको सूचना पाएपछि प्रहरीले सहरमा सुरक्षा सर्तकता अपनाएको थियो। डार्बिनको भित्री क्षेत्र वुल्नरमा कैयौं गोलीको आवाज सुनिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचारमाध्यमले जनाएअनुसार बन्दुकधारीले डार्बिनको एक होटलको प्रत्येक कोठमा पसेर जथाभावी गोली प्रहार गरेका थिए। अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार आक्रमणकारीले पाल्मस होटलमा रहेकी एक महिलाको खुट्टामा कैयौं पटक गोली हानेका थिए।
प्रहरीले घटनामा एक ब्यक्तिको मात्र संलग्नता रहेको हुनसक्ने बताएको छ। प्रत्यक्षदर्शीहरुले डार्बिनको पामस् मोटलमा मात्र करिब २० राउण्ड गोली चलेको सुनेको बताए।
बीबीसीका अनुसार अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले घटना आतंकवादी क्रियाकलापसँग सम्बन्धित नरहेको जनाएका छन् । नर्दन टेरिटोरीका प्रहरी उपरीक्षक ली मोर्गनले कम्तीमा ४ जनाको हत्या भएको पुष्टि गरे।
उनले थप मृत्युबारे तत्काल केही बताउन नसकिने जनाए। स्थानीय समाचारमाध्यमका अनुसार ४५ वर्षीय बन्दुकधारीलाई प्रहरीले पक्राउ गरे पनि थप जानकारी सार्वजनिक गरेको छैन। प्रहरीका अनुसार बन्दुकधारीले टोयोटाको सेतो हाइलक्स गाडी चलाएर आएका थिए।