इस्लामाबाद – पाकिस्तानी सेनाले पूर्व जर्नेललाई जासुसी गरेको आरोपमा आजीवन कैदको फैलसाला गरेको छ। यस्तै अन्य दुई अन्य अधिकारीहरूलाई मृत्युदण्ड दिने फैसला गरेका छन्।
पाकिस्तानको एक सैन्य अदालतले ती तीन जना अधिकारीहरुविरुद्ध विदेशी निकायका लागि जासुसी गरेको र संवेदनशील सूचना चुहाएको अभियोग लगाइएको थियो। पाकिस्तानी सेनाका अनुसार सेनाप्रमुख जेनरल कमार जावेद बाज्वाले सैन्य अदातलको आदेशलाई अनुमोदन गरेको जनाएको छ।
सेनाले उनीहरूले कसका लागि जासुसी गरेका थिए र कस्तो सूचना उपलब्ध गराएका थिए भन्ने विषयमा केही खुलाएको छैन। तर धेरै पर्यवेक्षकहरूले अमेरिकी गुप्तचर निकाय सीआईएका लागि हुन सक्ने अनुमान गरेको बिबिसीले उल्लेख गरिएको छ।
बिबिसीका अनुसार अमेरीका र पाकिस्तानबीच सैन्य सहकार्यको लामो इतिहास रहेको उल्लेख छ। पाकिस्तानी र अमेरिकी सैन्य अधिकारीहरू बारम्बार भेटघाट हुने गरेको पनि उल्लेख छ।
आजीवन कारोबासको सजाय पाएका लेफ्टिनेन्ट जर्नेल जावेद इक्बालले १४ वर्ष कारागारमा कैदी जीवन बिताउनुपर्ने सैन्य अधिकारीहरुले बताएका छन्। सेनामा त्यति उच्च पद धारण गरेको व्यक्ति जासुसीको आरोपमा दोषी ठहर हुनु दुर्लभ घटना भएको बिबिसीमा उल्लेख गरिएको छ।
आजीवन कारोबासको सजाय पाएका इक्बालले सेवामा हुँदा महत्त्वपूर्ण ओहोदा र स्थानमा बसेर काम गरेका थिए। देश तथा विदेशमा गरिने सबै खाले सैन्य अभियानको योजना निर्माण तथा कार्यान्वयन विभागका प्रमुख भएर पनि उनले काम गरेका थिए। उनी सेनाको अनुशासन तथा उत्तरदायित्व हेर्ने विभागमा पनि थिए।
यस्तै अर्का अवकाशप्राप्त सैन्य अधिकारी ब्रिगेडियर राजा रिज्वान र चिकित्सक वसिम अक्रमलाई मृत्युदण्ड सुनाइएको छ। अक्रमले संवेनशील संस्थामा काम गरेको भनिए पनि नाम खुलाइएको छैन। यसअघि ब्रिगेडियरभन्दा उच्च पदस्थ सैन्य अधिकारीलाई जासुसीको अभियोगमा दोषी ठहर गरिएको थियो कि थिएन त्यो स्पष्ट जानकारी नभएको बिबिसीले उल्लेख गरिएको छ।
तर केही अधिकारीहरूलाई सैन्य विद्रोहको योजनामा सहभागी भएको वा विद्रोही समूहसँग सम्बन्ध राखेको आरोपमा दण्ड दिइएको इतिहास भने पाकिस्तानमा रहेको पाकिस्तानी सैन्य स्रोतको भनाई उदृत गर्दै बिबिसीले लेखेको छ।
दोषी र सजाय पाएकाहरुले पुनरावेदन गर्ने अवसर भने पाउनेछन्। पाकिस्तानमा छुट्टै सैन्य न्यायप्रणाली छ। उक्त सैन्य न्यायप्रणाली मार्फत पुनरावेदन गर्न सकिने व्यवस्था छ। बिबिसी