नयाँदिल्ली — छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्लीको चल्तीको बजार करोलबाग सवारी साधन मुक्त भएका छन्। करोलबाग निकै चल्तीका बजार हुन्। दिल्ली पुग्ने नेपालीमध्ये यो करोलबाग बजार नपुग्ने बिरलै भेटिन्छन्। बाह्रैमास उत्तिकै भीड। बिदाको दिन त झनै घुइँचो लाग्छ। ठेलमठेल हुन्छ। एक पटक बजारमा छिरेपछि कति बेला बाहिर निस्कूँजस्तो। पूरै उकुसमुकुस।
मेट्रो स्टेसनबाट ओर्लेदेखि नै अत्यासलाग्दो भीड र कोलाहल। सडकभरि जथाभाबी छरपस्ट राखिएका सामान। त्यही भीडमा रिक्सा, अटोदेखि कारसम्म। ग्राहक र पैदलयात्रीलाई ज्यान जोगाउनै हम्मे।
झट्ट सुन्दा पत्याउन गाह्रो पर्छ, त्यस्तो अत्यासलाग्दो बजार महिनायता एकाएक शान्त छ। पैदलयात्री निर्बाध हिँड्न पाउँछन्। मेट्रो स्टेसनबाट बाहिर निस्कनासाथ फरक अनुभव हुन्छ। पहिले जथाभाबी हुइँकिने रिक्सा, अटो र अन्य निजी सवारीसाधनलाई पूरै प्रवेश निषेध गरेर सडकलाई पैदलयात्रीमैत्री बनाइएको छ। अब त्यहाँ न धूवाँधूलो, न पहिलेको जस्तो कोलाहल छ। यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ।