वासिन्टन – फेसबुकका अध्यक्ष मार्क जुकर्बर्गलाई अध्यक्ष पदबाट हटाउन गरिएको एउटा प्रयास असफल भएको छ। फेसबुकको वार्षिक साधारणसभामा बिहीवार भएको मतदानसँगै जुकर्बर्ग प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिका अध्यक्ष दुवै रहिरहने भएका छन्।
फेसबुकमा जुकर्बर्गको ६० प्रतिशत शेयरको हिस्सा छ। उनले मतदानमा आफैँले आफूविरुद्ध मत हालेको भए मात्रै उनी हार्ने थिए। उनलाई अध्यक्ष पद त्याग गर्न आह्वान गर्ने केही लगानीकर्ताले अध्यक्ष पद छाड्दा जुकर्बर्गले कम्पनी सञ्चालनमा अझ ध्यान पुर्याउन सक्ने तर्क गरेका थिए।
हटाउने प्रस्ताव किन ?
जुकर्बर्गलाई अध्यक्षबाट हटाउने खोज्ने लगानीकर्ताहरूमध्येका एक ७० लाख डलर बराबरको शेयर भएको ट्रिलियम एसेट म्यानेजमेन्ट पनि हो। संसारको एउटा विशाल कम्पनीमा अहिले उनले ‘जुकर्बर्गे दुईवटा महत्त्वपूर्ण पद ओगटेका छन्। यदि उनले प्रमुख कार्यकारी अधिकृतको भूमिकामा केन्द्रित भएर अरूलाई स्वतन्त्रतापूर्वक सञ्चालक समितिको अध्यक्षता गर्न दिए त्यो धेरै राम्रो स्थिति हुन्छ’ ट्रिलियमका वरिष्ठ उपाध्यक्ष जोनस क्रोनले बीबीसीलाई मतदानअघि भनेका थिए।
ल्यारी पेज र एल्फबेट तथा बिल गेट्स र माइक्रोसफ्टको दृष्टान्त दिँदै उनले संस्थापक नै सञ्चालक समितिको अध्यक्ष बनिरहन पर्दैन भन्ने उदाहरण भएको तर्क गरेका थिए। ‘मलाई थाहा छ यो त्यति सजिलो कदम नहुन सक्छ। तर यो महत्त्वपूर्ण कदम उनको हित र उनका लगानीकर्ताहरूको हितमा हुन्छ।’ एक वर्षभन्दा लामो समयदेखिको गोपनीयता र सूचना सुरक्षासम्बन्धी प्रकरणहरूका बीचमा पनि फेसबुकले अपेक्षाभन्दा राम्रो कमाइ गरेको छ र अझ धेरै मानिसहरूका माझ पुगेको छ।
साधारण सभामा स्वतन्त्र अध्यक्ष नियुक्त गर्ने सम्बन्धी प्रश्नको जवाफ दिन जकर्बर्गले चाहेनन्। उनले फेसबुकलाई निर्देशित गर्न गोपनीयता र सूचनाका विषयमा नियामक संस्थाहरूले नियम बनाउनुपर्ने धारणा दोहोर्याए।
साधारणसभा स्थलको बाहिर सानो समूहले फेसबुकले आफ्ना प्रयोगकर्ताहरूलाई संरक्षण नगरेको भन्दै विरोध प्रदर्शन गरेका छन्। अर्को समूहले भने फेसबुकले सेन्सर गरेको भन्दै प्रदर्शन गरेका छन्।
धेरै शक्ति
मे महिनामा फेसबुकका पूर्वसुरक्षा प्रमुख एलेक्स स्ट्यामोसले जकर्बर्गलाई प्रमुख कार्यकारीको पद छाड्न आग्रह गरेका थिए।क्यानडामा आयोजित एउटा कन्फरेन्समा बोल्दै उनले जुकर्बर्गसँग‘अति धेरै शक्ति भएको न्यायसङ्गत तर्क’ भएको बताएका थिए।
जुकर्बर्गले आफ्नो नेतृत्वको बचाउ गर्ने गरेका छन्। फेसबुकजस्तो अभूतपूर्व संस्था निर्माण गर्दा केही कुरा बिग्रिन सक्ने टिप्पणी गर्दै गत एप्रिलमा उनले भनेका थिए, ‘हामीले त्रुटिबाट सिकेका छौँ कि छैनौँ त्यसबाट मानिसहरूले हामीलाई उत्तरदायी बनाउनुपर्छ भन्ने मलाई लाग्छ।’ बिबिसी