जापान – अमेरिकासँग जापानले १ सय ५ वटा राडरबाट देख्न नसक्ने स्टिल्थ लडाकु विमान किन्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यही साता भएको चार दिने जापान भ्रमणका क्रममा लकहिड मार्टिन नामक अमेरिकी विमान कम्पनीले बनाएका एफ–३५ मोडलका लडाकु विमान किन्ने घोषणा गरिएको हो।
यो विमान जापानले गत डिसेम्बरमै किन्ने बताउदै आएका थिए। जापानी प्रधानमन्त्री सिन्जो अबेसँगको सम्झौतापछि राष्ट्रपति ट्रम्पले भनेका छन्– जापानले १ सय ५ वटा एफ–३५ स्टिल्थ जहाज किन्ने घोषणा गरेको छ। यी विमान किन स्टिल्थ हुन्छन् भने तपाईं यिनलाई देख्न (राडारबाट) सक्नुहुन्न।
यी विमान किनेसँगै जापान अमेरिकाका सहयोगी देशहरूमध्ये सबैभन्दा धेरै एफ–३५ विमान भएको देश बन्नेछ। यसअघि अष्ट्रेलियाले यस्ता ७२ विमान किन्नलाई १७ अर्ब डलर छुट्याएको छ भने दक्षिण कोरियाले ४० वटा विमान अर्डर गरिसकेको छ। सउलले थप २० वटा एफ–३५ विमान किन्ने निर्माता कम्पनी लकहिडको आशा छ।
जापानको यो निर्णयसँग एसिया प्रशान्त क्षेत्रमा हतियार दौड सुरू हुने विश्लेषकहरूले बताएका छन्। जापानको यो कदमले सबैभन्दा बढी चीनलाई झस्काएको छ। पछिल्लो समय प्रशान्त सागरका विभिन्न क्षेत्रमा बलियो उपस्थिति जनाइरहेको चिनियाँ जनमुक्ति सेनालाई यसले चुनौती थपेको छ।
यसअघि चीनले पनि यस्तै नदेखिने एफ–२० विमान आफ्नो सेनालाई दिएको थियो। तर उक्त चिनियाँ विमानको इन्जिनमा समस्या देखिएको थियो। जापानले गरेको नयाँ निर्णयसँगै बेइजिङलाई आफ्नो स्टिल्थ विमानको दौडमा व्यापक सुधार गर्ने दबाब परेको छ। एजेन्सी