काठमाडौँ – पवनकुमार चाम्लिङको २५ वर्षे शासनलाई अन्त्य गर्दै सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष पीएस गोलेले सिक्किममा मुख्यमन्त्रीको सपथ लिएका छन्। सिक्किमका गभर्नर गंगाप्रसादले उनलाई गंगटक प्लाजर स्टेडियममा सोमबार सपथ ख्वाएका हुन्।
प्रेमसिंह तामाङ (पीएस गोले)को पार्टी सिक्किम क्रान्तिकारी मोर्चाले ३२ सिटमा १७ सिट जित्दै बहुमत ल्याएपछि उनी मुख्यमन्त्री हुन सफल भएका हुन्। सिक्किम डेमोक्रेटिक फ्रन्टमै राजनीति गर्ने गोलेले पवन चाम्लिङसँग असन्तुष्ट भएपछि सन् २०१३ मा नयाँ पार्टी गठन गरेका थिए।
गोले नेपाली आमा–बाबु कालुसिंह तामाङ र धनमाया तामाङका छोरा हुन्। उनको जन्म ५ फेब्रुअरी, सन् १९६८ मा भएको थियो। गोलेले दार्जिलिङबाटै स्नातकोत्तर गरे र सिक्किम राज्यले सञ्चालन गरेको एक विद्यालयमा शिक्षकका रुपमा काम गरे।
सिक्किम डेमोक्रेटिक फ्रन्टमा जोडिनुअघि तीन वर्षमै उनले सरकारी जागिर छोडिदिए र सामाजिक काममा लागे। गोले जब राजनीतिमा लागे, उनको तीन वर्षको राजनीतिक जीवन सफल नै भयो। उनी सन् १९९४ को विधानसभा चुनावमा विजयी भए र सिक्किमको सांसद भएर पाँच वर्ष काम गरे।
त्यसपछि उनी सिक्किम डेमोक्रेटिक फ्रन्टको सरकारमा सन् २००९ सम्म मन्त्री भएर काम गरे। सन् २००९ देखि २०१४ को कार्यकालमा पनि उनले मन्त्री हुने चाहना प्रकट गरेका थिए तर पवन चाम्लिङले उनलाई मन्त्री पद दिएनन्। त्यसपछि चाम्लिङसँग रुष्ट भएका गोलेले सिक्किम डेमोक्रेटिक फ्रन्टको सबै पदबाट राजीनामा दिए र नयाँ पार्टी ‘सिक्किम क्रान्तिकारी मोर्चा’को अध्यक्ष भएर बसे।
सन् २०१६ मा गोलेलाई सन् १९९४ देखि १९९९ को समयमा सरकारी कोषको दुरुपयोग गरेको आरोप लाग्यो। त्यसपछि उनलाई सांसद पदबाट बर्खास्त गरियो। सिक्किममा गोले नै त्यस्ता नेता हुन जसलाई सांसद पदबाटै निलम्बन गरिएको थियो।
उनले सिक्किमको उच्च अदालतमा आत्मसमर्पण गरे। सन् २०१८ मा उनी जेलमुक्त भए। जेलमुक्त हुँदा उनलाई सयौँ समर्थक लिन पुगे। नभन्दै गोलेले यस वर्षको चुनावमा आफ्नो पार्टीलाई शक्तिशाली बनाए।